चरित्र हत्या गरेको आरोपमा पक्राउ परेकी वेदिकालाई एक दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं : काठमाडौं जिल्ला अदालतले एक कथावाचिकाको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेकी वेदिका केसीलाई एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
बिहीबार लाजिम्पाटबाट पक्राउ परेकी केसीलाई प्रहरीको साइबर ब्युरोले म्याद थपका लागि अदालत उपस्थित गराएपछि न्यायाधीश उमानाथ गौतमको इजलासले एक दिनको समय दिएको हो।
केसीविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा उजुरी परेपछि ब्युरोले बुधबार नै अदालतबाट पक्राउ अनुमति लिएको थियो। अदालतका सूचना अधिकारी हेमन्त भट्टराईका अनुसार केसीलाई एक दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
केसीले सामाजिक सञ्जाल तथा युट्युब अन्तर्वार्तामार्फत ती कथावाचिकाको व्यक्तिगत चरित्र र आर्थिक विषयलाई लिएर अप्रमाणित अफवाह फैलाएको आरोप छ।
कथावाचिकाले विवाहको कुरा छलेको, भारतमा घरजग्गा जोडेको र सुनसरीको एक आश्रममा आर्थिक अनियमितता गरेको जस्ता आरोपहरू केसी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भनेर उजुरी परेको थियो।
पछिल्लो केही सातादेखि सामाजिक सञ्जालमा चर्चामा रहेकी केसीको अभिव्यक्तिले धार्मिक क्षेत्रमा समेत विवाद उत्पन्न गराएको थियो।
साउन ७, २०८३ बिहीबार १८:३४:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।