‘प्रधानमन्त्रीलाई पनि संविधानले बाँध्छ कि बाँध्दैन ?’

‘प्रधानमन्त्रीलाई पनि संविधानले बाँध्छ कि बाँध्दैन ?’

काठमाडौं : सरकारको कार्यशैली र संवैधानिक पालनामाथि गम्भीर प्रश्न उठाउँदै नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार संविधानभन्दा माथि हुन नसक्ने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित ४४औँ बीपी स्मृति दिवसका अवसरमा थापाले भ्रष्टाचार अनुसन्धानका प्रक्रियाहरू संविधानको परिधिभित्रै रहेर अगाडि बढाउनुपर्नेमा सुझाव दिए। 

पासपोर्ट खरिद प्रक्रियाको प्रसङ्ग उल्लेख गर्दै उनले अदालतमा विचाराधीन मुद्दाको निर्णयलाई आफूहरूले स्वीकार गर्ने तर सरकारको प्रक्रियामा भने जवाफदेहिता खोजिने बताए। 

"कसले कसलाई ठेक्का दियो भन्ने हाम्रो सरोकारको विषय होइन। अदालतले अनियमितता भएको छ वा छैन भन्ने टुङ्गो लगाउँछ। जसले गल्ती गरेको हो, उसलाई पाता कसियो भने सरकारलाई धन्यवाद नै दिन्छौं," थापाले भने, "तर हाम्रो प्रश्न एउटा मात्र हो- नेपालको यो सरकारले संविधान मान्छ कि मान्दैन ? हामी सबैले संविधान मान्छौं, नेपालको अहिलेको प्रधानमन्त्रीलाई संविधानले बाँध्छ कि बाँध्दैन ?"

सुकुम्वासी, विधि विधान र नागरिकसँग जोडिएका विषयमा कांग्रेसले संसद्‌मा प्रश्न उठाइरहने उल्लेख गर्दै  थापाले सरकारले कालो कर्तुत गरे नछोड्ने चेतावनी दिए। उनले भने, “कालो चस्मा लगाउनुस् तपाईंको छनोट, कालो वस्त्र धारण गर्नुस् तपाईँको छनोट। म केही बोल्दिनँ। तर तपाईँले कालो कर्तुत गर्नुभयो भने म छाड्दा पनि छाड्दिनँ।”

अर्थतन्त्रमा देखिएका वर्तमान समस्या समाधानका लागि प्रधानमन्त्री शाहले थालेको प्रयास सकारात्मक रहेको भन्दै उनले समस्याको चुरोमा पुग्न आग्रह गरे।

साउन ७, २०८३ बिहीबार १८:१४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।