कर प्रशासन सुध्रिए नेपाल ‘ग्रे लिस्ट’बाट बाहिरिनेमा अर्थमन्त्री वाग्लेको विश्वास

कर प्रशासन सुध्रिए नेपाल ‘ग्रे लिस्ट’बाट बाहिरिनेमा अर्थमन्त्री वाग्लेको विश्वास

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाएर नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत रहेको बताएका छन्। 

आन्तरिक राजस्व विभाग, लाजिम्पाटबाट देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई बिहीबार सम्बोधन गर्दै उनले नेपाल चाँडै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कने विश्वास व्यक्त गरे।

उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनको तर्फबाट पनि मिहिन ढङ्गले हेर्नुपर्नेमा जोड दिए। वाग्लेले कर प्रशासकहरूको वृत्ति विकास एवं उनीहरूको काम गर्ने तरिका र राज्यलाई गरेको सहयोगका आधारमा प्राथमिकताका साथ हेरिने बताए। 

उनले कर सङ्कलनका लागि जबरजस्ती र त्रसित बनाएर नभई स्वेच्छिक कर अनुपालनमार्फत करदाताहरूलाई करको दायरामा समेट्नुपर्नेमा जोड दिए। कर प्रशासनलाई चुस्त बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिजस्ता जुनसुकै कुराको अभाव भए निर्धक्क भएर भन्न पनि उनले आग्रह गरे।

कर प्रशासनमा काम गर्ने र राज्यलाई लाभ दिलाउनेलाई प्रोत्साहन गरिने उनले स्पष्ट पारे। यस वर्षको बजेटले अर्थतन्त्रको जहाजलाई मोडेलको रूपमा बुझ्न आग्रह गर्दै उनले आगामी चार आर्थिक वर्षको बजेटमार्फत सरकारले बनाउन चाहेको अर्थतन्त्रको आधार देखिने बताए।

बजेटमा दिइएको छुटका योजना कार्यान्वयन गर्न, करदाता प्रोत्साहन कार्यक्रम सफल बनाउन, करदाता सचेतना वृद्धि र कारोबार डिजिटल बनाउन सबैखाले पहल गर्न उनले विभागीय नेतृत्वलाई निर्देशन दिए। 

साउन ७, २०८३ बिहीबार १६:१४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।