‘काँग्रेसको नेतृत्व प्रतिस्पर्धी पनि छैन, उत्तरदायी पनि छैन’
काठमाडौं : राजनीतिशास्त्रका प्राध्यापक एवं नागरिक समाजका अगुवा कृष्ण खनालले नेपाली काँग्रेसमा नेतृत्व प्रतिस्पर्धी र उत्तरदायी हुन नसकेको टिप्पणी गरे।
बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा बोल्दै प्रा. खनालले पार्टीको आन्तरिक लोकतन्त्र, नेतृत्वको कार्यशैली र जनसम्बन्धका विषयमा भएका अभ्यासहरूबारे समीक्षात्मक धारणा राखे।
उनले भने, "तपाईंहरूले बोल्नु र सभापति गगन थापाले बोल्नुमा धेरै ठुलो अन्तर हुन्छ। सभापतिको बोलीमा पार्टी बोल्छ। महामन्त्रीहरू, उपसभापतिको बोलीमा पार्टीको एक टुक्रा बोल्ला, अथवा उहाँ आफैँ बोल्नुहोला, सिङ्गै नेपाली काँग्रेस बोल्दैन हेर्नुस्। र यो नेपाली काँग्रेसको वास्तविकता हो।"
सभापतिको स्वीकृति विना पार्टी ठप्प रहने स्थिति रहेको बताउँदै उनले पछिल्लो समयका गतिविधिले केही आशा जगाएको उल्लेख गरे। "सभापतिले नमानिदिएपछि 'पार्टी त हल न चल' कतै चल्दै चल्दैन। त्यस्तै भएर बस्या थियो, पोखरीमा पानी जमेको जस्तो। अहिले अलिकति हलचल पैदा भएको छ। केही पानी बग्छ कि आशा गरौं," उनले भने।
काँग्रेसको नेतृत्व चयन र सदस्यता वितरण प्रणालीमाथि उनले प्रश्न उठाए। खनालले भने, "काँग्रेसको नेतृत्व प्रतिस्पर्धी पनि छैन, उत्तरदायी पनि छैन। यो म दाबाका साथ भन्छु। तपाईंहरूले महाधिवेशन गरेर चुनाव गर्दैमा प्रतिस्पर्धी होइन। काँग्रेसको सदस्यता कसरी वितरण हुन्छ, काँग्रेसको सदस्यतामा कत्रो पकड छ, यी कुराहरू मलाई थाहा छ।"
भारतीय काँग्रेसको अवस्थालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले नेपाली काँग्रेसलाई सचेत हुन सुझाव दिए। "नेहरु पछि भारत पनि छ, नेहरु पछि भारतीय काँग्रेस पनि छ, तर भारतीय काँग्रेसको हालत ठिक छैन है," उनले भने, "कहिलेकाहीँ हामी पनि यहाँ कुरा गर्छौं, कतै त्यस्तै काँग्रेस यहाँ नेपाली काँग्रेस नबनोस् भनेर। त्यो भन्दा त धेरै अगाडि छ नेपाली काँग्रेस तर त्यही बाटोमा नजाओस्, त्यस्तो नपरोस् भन्ने हो।"
पार्टीको राष्ट्रिय परिचय केवल नीतिले मात्र नभई सबैको अपनत्वले निर्धारण गर्ने उनको तर्क थियो। खनालले भने, "राष्ट्रिय पार्टी भनेको के हो? राष्ट्रिय पार्टी भनेको सबै उमेर समूहका, सबै जातजाति, सबै क्षेत्रका सबैलाई बोकेर हिँड्ने हो। सबैको समर्थन लिने हो। त्यो त्यति प्राप्त गरेपछि त्यो पार्टी राष्ट्रिय हुन्छ। उसका घोषणा र नीतिले मात्र राष्ट्रिय पार्टी बन्ने होइन।"
बीपी कोइरालाले सुरु गरेको जनता जोड्ने अभियान कमजोर हुँदै गएको उल्लेख गर्दै खनालले पछिल्लो चुनावी परिणाम र युवाहरूको विद्रोहलाई त्यसको सङ्केतका रूपमा व्याख्या गरे।
"मलाई अहिले लाग्दछ, जनता जोड्ने कुरामा अलिकति हामी पछाडि पर्दैछौं कि?," उनले भने, "चुनाव सम्पन्न भयो, ठुलो विद्रोह भयो, नव युवाहरूले विद्रोह गरे गत साल। काँग्रेससँग जनता जोडिन अलिकति कम हुन थालेको हो कि भन्ने सङ्केत पनि देखा पर्यो। चुनाव परिणामले पनि त्यो देखाउँदछ।"
साउन ७, २०८३ बिहीबार १५:५९:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।