त्रिभुवन विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलोग्राम थाई गाँजासहित दुई जना भारतीय महिला पक्राउ परेका छन्।
लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय (गौचर) बाट खटिएको प्रहरी टोलीले साउन ७ गते राति उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा भारतको मणिपुर ठेगाना भएका २० वर्षीया मोना देवी लोङजाम र २३ वर्षीया ओइनम एली रहेका छन्।
प्रहरीका अनुसार थाइल्यान्डको बैंककबाट थाइ एयरवेजको उडान नम्बर ‘टीजी ३०९’ मार्फत काठमाडौं आएका उनीहरूले सुटकेसभित्र लुकाएर गाँजा ल्याएका थिए।
हवाई मार्ग हुँदै नेपाल आउने विदेशी यात्रुहरूको नियमित जाँच तथा प्रोफाइल गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
उनीहरूको साथबाट ८ किलोग्राम थाई गाँजाका साथै २ थान पासपोर्ट र २ थान मोबाइल फोन बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनामाथि लागु औषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको लागु औषध नियन्त्रण ब्यूरोका सह-प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) जीवन निरौलाले जानकारी दिएका छन्।
साउन ७, २०८३ बिहीबार १२:२८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।