विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई प्राधिकरणले १५ लाख ७१ हजार क्षतिपूर्ति दिने
काठमाडौं : नवलपरासी (सुस्ता पूर्व) को त्रिवेणी गाउँपालिका–२ घुसेनीमा विद्युत्को तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका बालकलाई नेपाल विद्युत् प्राधिकरणले उपचार र कुरुवा खर्चसहित कुल १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति दिने भएको छ।
प्राधिकरण सञ्चालक समितिको बैठकले दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ बमोजिम उक्त रकम स्वीकृत गरेको हो। यो रकम सम्बन्धित वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई हस्तान्तरण गरिनेछ।
प्राधिकरणका अनुसार त्रिवेणीस्थित आमा समूहको भवनको छतमा खेलिरहेका बेला बालकले भवननजिकै रहेको ११ केभी प्रसारण लाइनको तार छोएका थिए। सोही दुर्घटनामा परी उनले दुवै हात गुमाउनुपरेको थियो।
प्राधिकरणको विनियमावलीअनुसार २ लाख रुपैयाँसम्मको क्षतिपूर्ति र औषधोपचार विभागीय प्रमुख, २ लाखदेखि ५ लाख रुपैयाँसम्म सम्बन्धित उपकार्यकारी निर्देशक, ५ लाख देखि १० लाख रुपैयाँको मुख्य प्रशासकीय अधिकृत र १० लाखभन्दा बढीको रकम सञ्चालक समितिले निर्णय गर्नुपर्ने व्यवस्था छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कानुनी व्यवस्था र विगतका नजीरहरुका आधार पीडित बालकको परिवारलाई सहयोग गरिएको बताए।
"यो रकमले पीडा भुलाउने त होइन तर जीवनयापनमा थोरै भए पनि सहयोग होस् भन्ने अपेक्षा गरिएको छ," मन्त्री श्रेष्ठले भने, "बीमा, उपचार र क्षतिपूर्तिको व्यवस्था एकातिर भइरहेकै विषय हो। तर, पछिल्ला दिनमा बढ्दै गएको विद्युतीय दुर्घटनाको न्यूनीकरणका लागि प्राधिकरण र नागरिक समाज सचेत हुनुपर्छ।"
मन्त्री श्रेष्ठले हरेक वर्ष विद्युतीय दुर्घटनाबाट भइरहेको जनधनको क्षतिको तथ्यांक डरलाग्दो रहेको उल्लेख गर्दै प्राधिकरणलाई आफ्ना संरचनाहरुको मर्मत गर्ने, जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउने, सुरक्षा सतर्कता बढाउने र नागरिकलाई जनचेतना तथा पूर्व सूचनाका कार्यलाई तीव्रता दिन निर्देशनसमेत दिएका छन्। साथै विद्युतीय दुर्घटना न्यूनीकरण गर्न नागरिकको सचेतना पनि अपरिहार्य रहेको उनले बताए ।
साउन ७, २०८३ बिहीबार ११:४२:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।