कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने

कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने

सुर्खेत : कर्णालीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

बिहीबार बिहान बसेको नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठकले उक्त निर्णय गरेको दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताए।

नेपाली कांग्रेससँगको सहमतिअनुसार असार ३२ गते प्रदेशसभा सचिवालयमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो। बुधबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले पनि अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरिसकेको छ।

अविश्वास प्रस्तावमा नेकपाका ११ र नेपाली कांग्रेसका ५ गरी कुल १६ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन्। ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १४, एमालेका १० तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद छन्।

आलोपालोको सरकार सञ्चालनको सहमतिबाट मुख्यमन्त्री पछि हटेको भन्दै कांग्रेसले नेकपासँग सत्ता साझेदार गर्ने सहमतिका साथ प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो। 

दुई दलबिच भएको सहमति अनुसार कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा अघि सारिएको छ। 

प्रदेशसभामा दर्ता भएको अविश्वास पत्र संसदबाट पारित भएको खण्डमा मुख्यमन्त्री कँडेल पदमुक्त हुनेछन्।  

आलोपालो सरकार सञ्चालन गर्ने पूर्वसहमतिबाट मुख्यमन्त्री कँडेल पछि हटेको भन्दै कांग्रेसले सरकारबाट बाहिरिएर नेकपासँग नयाँ गठबन्धन बनाएको हो।

यसअघि कांग्रेसबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा र आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले सामूहिक राजीनामा दिएका थिए। 

साउन ७, २०८३ बिहीबार ११:३४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।