लहानमा नास्पातीको बोराभित्र लुकाएर राखिएको ६५२ किलो गाँजा बरामद, गाडीसहित तीन जना पक्राउ

लहानमा नास्पातीको बोराभित्र लुकाएर राखिएको ६५२ किलो गाँजा बरामद, गाडीसहित तीन जना पक्राउ

सिराहा : सिराहाको लहान नगरपालिका–३ नयाँ बस्तीबाट प्रहरीले ठूलो मात्रामा गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ। नास्पातीको क्रेटभित्र लुकाएर राखिएको गाँजा र गाडीसहित उनीहरू पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बुधबार साँझ ४:३० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिराहाको संयुक्त टोलीले उक्त कारबाही गरेको हो। 

श्याम कुमारी साहको घर अगाडि पार्किङ गरिएको बा.२१.च ५८६६ नम्बरको योद्धा पिकअप गाडी शंकास्पद देखिएपछि खानतलासी गर्दा पछाडिको भागमा नास्पातीका क्रेटहरूभित्र लुकाइएको सेतो प्लाष्टिकका बोरामा लागू औषध फेला परेको थियो।

बरामद सामग्रीमा गाँजा जस्तो देखिने पदार्थ ३१ बोरा (प्लाष्टिकसहित ६५३ के.जी., बोरा र प्लाष्टिक बाहेक ६५२ के.जी.), नास्पातीका ४६ वटा क्रेट (९२० के.जी.) र उक्त पिकअप गाडी समावेश छ।

नियन्त्रणमा परेकाहरूमा लहान नगरपालिका–३ नयाँ बस्ती टोल निवासी ३८ वर्षीय श्याम कुमारी साह, भारतको बिहार राज्य मधुबनी जिल्लाका मूल घर भई हाल लहान–३ मा बसोबास गर्दै आएका ४० वर्षीय गौरव महतो र निजका १९ वर्षीय छोरा शिवम साह रहेका छन्।

प्रहरीले पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखेको जनाएको छ।

साउन ७, २०८३ बिहीबार १०:३४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।