सिन्धुपाल्चोकमा तीन सातादेखि बेपत्ता वृद्धाको सडेगलेको अवस्थामा शव भेटियो
काठमाडौं : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-६, लपडाँडामा करिब तीन सातादेखि बेपत्ता भएकी एक वृद्धा मृत अवस्थामा फेला परेकी छन्।
स्थानीय ७५ वर्षीया मिली तामाङको शव आइतबार सडेगलेको अवस्थामा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार, तामाङ गत असार १४ गते घरबाट निस्किएर सम्पर्कविहीन भएकी थिइन्।
आफन्तले खोजतलास गर्दा पनि फेला नपारेपछि असार २२ गते जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका थिए।
आइतबार दिउँसो पौने ५ बजेतिर जिल्ला प्रहरी कार्यालयबाट करिब एक किलोमिटर उत्तरतर्फ पर्ने लपडाँडामा उनको शव भेटिएको थियो।
शव पूर्ण रूपमा सडेगलेको अवस्थामा भेटिएकाले पोस्टमार्टम गर्न सम्भव नभएको प्रहरीले जनाएको छ।
आइतबार साँझ ६:४० बजे घटनास्थलको मुचुल्का (कानुनी प्रक्रिया) सम्पन्न गरिसकेपछि वडाध्यक्षको रोहबरमा शव आफन्तलाई बुझाइएको थियो।
पोस्टमार्टम गर्न नसकिने अवस्था भएपछि आफन्तहरूले सोही स्थानमै वृद्धाको सद्गत (अन्तिम संस्कार) गरेको प्रहरीले जनाएको छ।
साउन ७, २०८३ बिहीबार ०९:५९:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।