कोशीसहित पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

कोशीसहित पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ।

अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली छ। मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली रहेको छ।

आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

त्यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति भने बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।

रातिको समयमा देशका पहाडी भूभागका केही र तराईका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, भूक्षय र गेग्रान बहावको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातमा समेत असर पर्नसक्ने भन्दै विभागका पछिल्ला सूचनामा अद्यावधिक रहन अनुरोध गरिएको छ।

साउन ७, २०८३ बिहीबार ०७:२८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।