अध्यागमनको हिरासतका चिनियाँ छुटाउन ७२ लाख डिल गरेको आरोपमा सशस्त्रका पूर्वएसएसपीदेखि हास्य कलाकारसम्म पक्राउ
काठमाडौं : अध्यागमन विभाग कालिकास्थानको हिरासतमा रहेका ९ जना चिनियाँ नागरिकलाई छुटाउने भन्दै मोटो रकम बार्गेनिङ गरेको आरोपमा सशस्त्र प्रहरी बलका पूर्वएसएसपी र हास्य कलाकारसहित तीन जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सशस्त्र प्रहरीका पूर्वएसएसपी ५९ वर्षीय गोपालकुमार गुरुङ, हास्य कलाकार नारदप्रसाद खतिवडा र ३८ वर्षीय विक्रमबहादुर थापालाई बुधवार पक्राउ गरेको हो।
कार्यालयको टोलीले थापालाई कालिकास्थान, गुरुङलाई जावलाखेल र खतिवडालाई अनामनगरबाट नियन्त्रणमा लिएको जानकारी दिएको छ। उनीहरू तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
७२ लाखको ‘डिल’ , ९ लाख पेस्की
अपराध अनुसन्धान कार्यालयका अधिकारीको दाबी अनुसार यी तीन जनाले हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाउन पैसा खर्च गर्नुपर्ने भन्दै उनीहरूसँग ७२ लाख रुपैयाँको डिल गरेका थिए। काम गरिदिने भन्दै उनीहरूले सोही समूहबाट ९ लाख रुपैयाँ पेस्कीसमेत बुझिसकेका थिए भने बाँकी रकम छुटेपछि लिने सर्त थियो। उनीहरूले विभागले जफत गरेका १५ थान राहदानी फिर्तासमेत गराइदिने आश्वासन दिएका थिए।
नेपालमा अवैध रूपमा चिनियाहरु रहेको सूचनाको आधारमा विभागले असार १० मा चोभारको एक घरमा छापा मारेर ६० चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो। नेपाली भिसा कायम रहेकाहरू छुटे भने भिसा अवधि सकिएका ९ जनालाई विभागको हिरासतमा पुगे।
साउन ६, २०८३ बुधबार २१:३८:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।