असारमा १ लाख ७८ हजार इन्टरनेट प्रयोगकर्ता थपिँदा ३७ हजार टेलिकमको मात्रै
काठमाडौं : नेपालमा दूरसञ्चार र इन्टरनेट सेवाको प्रयोग तीव्र गतिमा बढिरहेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको जेठ र असार २०८३ को तुलनात्मक तथ्याङ्कअनुसार एकै महिनामा नेपालमा १ लाख ७८ हजारभन्दा बढी नयाँ इन्टरनेट प्रयोगकर्ता थपिएका छन्।
प्राधिकरणको प्रतिवेदनअनुसार २०८३ जेठ मसान्तमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच बढेको देखिएको हो।
टेलिफोन सेवामा ५८ हजार ग्राहक थपिए
जेठको तुलनामा असार महिनामा टेलिफोन सेवाका कुल ग्राहक ५८ हजार ७ सय ९३ जना थपिएका छन्।
जेठ मसान्तमा ३ करोड ३ लाख १९ हजार ५ सय ६२ रहेकोमा असार मसान्तमा बढेर ३ करोड ३ लाख ७८ हजार ३ सय ५५ पुगेको छ।
जेठको तुलनामा असारमा नेपाल टेलिकमका भ्वाइस ग्राहक १५ हजार १ सय ८९ ले घटेर १ करोड ६१ लाख ९३ हजारमा झरेको छ।
असार महिनामा एनसेलले आफ्नो भ्वाइस ग्राहक ७३ हजार ९ सय ६८ ले बढाएको छ। जेठमा १ करोड ४१ लाख ९ हजार रहेकोमा असारमा बढेर १ करोड ४१ लाख ८३ हजार पुगेको छ।
४जी र फाइबरतर्फ ठूलो आकर्षण
एक महिनाको अवधिमा मोबाइल डाटा र घरघरमा जोडिने फाइबर इन्टरनेट दुवैमा उल्लेख्य वृद्धि देखिएको छ।
जेठमा २ करोड ६८ लाख ६० हजार रहेका ४जी प्रयोगकर्ता असारमा १ लाख २२ हजार २ सय ५३ जनाले बढेर २ करोड ६९ लाख ८३ हजार पुगेका छन्।
३जी प्रयोगकर्ता जेठको तुलनामा असारमा ९ हजार २ सय ६४ जनाले घटेका छन्। यसले मानिसहरू ३जी छाडेर ४जी प्रविधितर्फ आकर्षित भइरहेको देखाउँछ।
फाइबर प्रविधिबाट इन्टरनेट चलाउने घरधुरी/प्रयोगकर्ताको सङ्ख्या जेठमा १५ लाख १९ हजार (५२.१०%) रहेकोमा असारमा बढेर १५ लाख ४८ हजार (५३.०९%) पुगेको छ।
फिक्स्ड इन्टरनेटमा नेपाल टेलिकमको फड्को
घरमा जोडिने फिक्स्ड इन्टरनेट सेवा प्रदायकहरूबीचको प्रतिस्पर्धामा सबैजसो मुख्य कम्पनीहरूले ग्राहक बढाएका छन्। विशेष गरी नेपाल टेलिकमले असार महिनामा ठूलो फड्को मारेको छ।
पहिलो स्थानमा कायम वर्ल्डलिङ्कले एक महिनामा १० हजार ४ सय ६३ नयाँ ग्राहक थप्दै कुल १० लाख ९२ हजार (३०.५६% हिस्सा) पुर्याएको छ।
दोस्रो स्थानमा रहेको नेपाल टेलिकमले असार महिनामा मात्रै ३७ हजार ३ सय ५० नयाँ फिक्सड इन्टरनेट ग्राहक थपेको छ। जेठमा ३ लाख ८४ हजार रहेकोमा असारमा बढेर ४ लाख २२ हजार (११.८२% हिस्सा) पुगेको छ।
तेस्रो स्थानमा रहेको डिसहोमले २ हजार ९ सय ६५ ग्राहक थप्दै ३ लाख ७४ हजार (१०.४७%) पुर्याउँदा भायोनेटले ४ हजार १ सय ३७ ग्राहक थप्दै ३ लाख ७३ हजार (१०.४६%) पुर्याएर चौथो स्थानमा छ।
क्लासिक टेक ३ हजार १ सय २४ ग्राहक थप्दै २ लाख ९२ हजार (८.२०%) का साथ पाँचौं स्थानमा छ।
असार २०८३ को तथ्याङ्कले नेपालमा २जी र ३जी जस्ता पुराना प्रविधिहरूलाई विस्थापित गर्दै नागरिकहरू द्रुत गतिको ४जी मोबाइल इन्टरनेट र फाइबर इन्टरनेटतर्फ स्थानान्तरण भइरहेको देखाउँछ।
भ्वाइस सेवातर्फ एनसेलले बजार हिस्सामा केही सुधार गरे पनि कुल बजार र मोबाइल इन्टरनेट दुवैमा नेपाल टेलिकम नै समग्रमा अगाडि छ।
साउन ६, २०८३ बुधबार १४:१८:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।