सर्लाहीमा जग्गा विवादमा दुई पक्षबीच झडप : मिटरब्याज पीडित र साहु पक्षका गरी छ जना घाइते
सर्लाही : सर्लाहीको बसबरिया गाउँपालिका-२ मा धितो राखिएको जग्गा र रोपाईंको विषयलाई लिएर दुई पक्षबीच कुटपिट हुँदा मिटरब्याज पीडित इन्दल सहनीको परिवारसहित दुवै पक्षका गरी छ जना घाइते भएका छन्।
ऋण बापत धितो राखिएको २६ कट्ठा जग्गाको विवादलाई लिएर सहनी परिवार र साहु पक्षबीच कुटपिट भएको हो। घाइतेहरूको बरहथवास्थित अस्पतालमा उपचार भइरहेको छ।
जेन-जी अभियन्ता लक्ष्मी घिमिरेका अनुसार पीडित इन्दल सहनीले करिब १० वर्षअघि स्थानीय साहु लक्ष्मी कुर्मी राउतसँग ८ लाख रुपैयाँ ऋण लिएका थिए। सो बापत उनले आफ्नो २६ कट्ठा जग्गा धितो गराएका थिए।
सहनीले सावा-ब्याज गरी १० देखि ११ लाख रुपैयाँ बुझाइसकेको भए पनि साहुको निधनपछि उनका छोरा बिलास शाहले उक्त जग्गा अर्कैको नाममा बिक्री गरिदिएका थिए। यद्यपि, सो जग्गामा विगत १० वर्षदेखि सहनी परिवारले नै जोतभोग गर्दै आएका थिए।
भर्खरै ‘काठमाडौं न्याय मार्च’बाट फर्किएका इन्दल सहनीले आफ्नो खेतको उखु थन्क्याएपछि साहु पक्षका मानिसहरू जबरजस्ती धान रोप्न पुगेका थिए।
सोही विषयमा विवाद हुँदा साहु बिलास शाहको नेतृत्वमा आएको समूहले सहनी परिवारमाथि आक्रमण गरेको अभियन्ता घिमिरेले बताइन्। आक्रमणबाट इन्दल सहनी, उनका छोराहरू उमेश र मुना सहनी तथा श्रीमती भगवती कुमारी सहनी घाइते भएका छन्।
टाउकोमा गम्भीर चोट लागेकाले हाल उपचार भइरहेको र अस्पतालबाट डिस्चार्ज भएपछि प्रहरीमा जाहेरी दर्ता गराइने घिमिरेले जानकारी दिइन्।
‘दोहोरो कुटपिट हो, साहु पक्षका ४ जना गम्भीर घाइते’
यता, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख (एसपी) रवीन्द्रनाथ पौडेलले भने उक्त घटना दुई पक्षबीचको दोहोरो झडप भएको बताएका छन्।
उकेरासँगको कुराकानीमा एसपी पौडेलले घटना केवल मिटरब्याजको मात्र नभई जग्गा खरिद-बिक्री र जोतभोगसँग सम्बन्धित विवादका कारण भएको बताए। प्रहरीका अनुसार घटनामा दुवै पक्षका मानिसहरू घाइते भएका छन्।
‘घटनामा मिटरब्याज पीडित भनिएको पक्षका २ जना र अर्को (साहु) पक्षका ४ जना घाइते भएका छन्,’ एसपी पौडेलले भने, ‘अर्को पक्षका घाइतेहरूको अवस्था झन् गम्भीर र सिरियस रहेको छ।’
प्रहरीका अनुसार घाइतेहरू उपचाररत रहेकाले अहिलेसम्म कुनै पनि पक्षबाट औपचारिक किटानी जाहेरी आइसकेको छैन।
जाहेरी प्राप्त भएपछि र घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही अघि बढाउने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
साउन ६, २०८३ बुधबार ११:५२:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।