मुख्यमन्त्रीको हातमा परेको छैन एमाले संसदीय दलको पत्र, भन्छन्- ‘हामी प्रतिपक्षमा बस्न पनि तयार छौँ’

मुख्यमन्त्रीको हातमा परेको छैन एमाले संसदीय दलको पत्र, भन्छन्- ‘हामी प्रतिपक्षमा बस्न पनि तयार छौँ’

हेटौंडा : बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले दिएको सामूहिक राजीनामा पत्र अझै मुख्यमन्त्रीको हातमा पुगिसकेको छैन।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा पत्र सार्वजनिक भएको थाहा पाए पनि अझै  आफ्नो कार्यालयमा आइनपुगेको बताएका छन्।

मुख्यमन्त्री बानियाँले उकेरासँगको कुराकानीमा भने, ‘मलाई अहिलेसम्म राजीनामाको बारेमा ठ्याक्कै जानकारी छैन। उहाँहरूले दिने भन्ने हल्ला सुनेको थिएँ, पत्र सार्वजनिक भएको पनि सुनेँ, तर मेरो हातमा भने अहिलेसम्म राजीनामा पत्र आइपुगेको छैन।’

केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच समझदारी बनेपछि बागमती प्रदेशमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षरसहित एमालेका मन्त्रीहरूले राजीनामा दिएको पत्र सार्वजनिक भएको थियो।

तर, त्यो पत्र औपचारिक रूपमा मुख्यमन्त्री कार्यालयमा दर्ता हुन बाँकी रहेको देखिएको छ।

‘तीन दलीय गठबन्धन हुँदैन, हामी प्रतिपक्षमा बस्न पनि तयार छौँ’
मुख्यमन्त्री बानियाँले अब बागमती प्रदेशमा कांग्रेस, एमाले र नेकपासहितको तीन दलीय गठबन्धन सरकार नबन्ने प्रस्ट पारेका छन्।

‘हाम्रो कुरा प्रस्ट छ, तीन दलीय गठबन्धन गरेर सरकारमा जाने कुरा हुँदैन,’ उनले भने, ‘यहाँ कांग्रेस, एमाले र माओवादी केन्द्र ठूला पार्टी हुन्। जो-जो मिले पनि दुईवटा पार्टी मिलेर सरकार बनाउने हो। एउटा पार्टी प्रमुख प्रतिपक्षमा बस्नुपर्छ। हामी प्रतिपक्षमा बस्न पनि सक्छौँ वा सत्तामा जान पनि सक्छौँ, अहिले दुवै विकल्प खुला छन्।’

यद्यपि, प्रदेश सरकारको भविष्य र नयाँ सरकार गठनको विषयमा अझैसम्म कुनै ठोस निर्णय नभएको उनले बताए।

साउन ६, २०८३ बुधबार १०:३३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।