ओली र प्रचण्डबीच समझदारीपछि कांग्रेस नेतृत्त्वको बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
हेटौँडा : केन्द्रमा फेरिएको राजनीतिक समीकरणसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिएको छ।
एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले साउन ६ गते मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा बुझाएका छन्।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीलाई पत्र लेख्दै राजीनामाबारे औपचारिक जानकारी गराएका हुन्।
पार्टी केन्द्रको निर्णय र वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकारमा सहभागी मन्त्रीहरूले संयुक्त राजीनामा दिएको दलका नेता थपलियाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट वन तथा वातावरणमन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री बिन्दु श्रेष्ठ र भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा रहेका थिए।
यस्तै, बिनाविभागीयबाट विषयगत जिम्मेवारी पाएका मन्त्रीहरू जयराम थापा, किरण थापामगर र भरतबहादुर केसीले पनि पदबाट राजीनामा दिएका छन्।
केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच नयाँ समझदारी बनेसँगै कांग्रेस नेतृत्त्वको प्रदेश सरकारबाट एमालेले राजीनामा दिएको हो।
अब सातै प्रदेशमा एमाले र नेकपामा संयुक्त सरकार बनाउनुका साथै आगामी प्रदेश र स्थानीय निर्वाचनमा समेत उनीहरूले सहकार्य गर्ने समझदारी भएको छ।
साउन ६, २०८३ बुधबार ०९:५५:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।