अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैयाँले बढ्यो, तर किसान अझै घाटामै
चितवन : बर्डफ्लुका कारण उत्पादन घटेपछि बजारमा अण्डाको मूल्य बढ्न थालेको छ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी सबै प्रकारका अण्डामा प्रतिक्रेट रु ५० ले मूल्य वृद्धि गरेको हो।
नयाँ मूल्य अनुसार ठूलो अण्डा प्रतिक्रेट ५ सय रुपैयाँ, मध्यम अण्डा प्रतिक्रेट ४ सय ७० रुपैयाँ र सानो अण्डा प्रतिक्रेट ४ सय १५ रुपैयाँ रहेको छ।
सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुका कारण कुखुरा मरेपछि अण्डाको उत्पादन ह्वात्तै घटेको छ।
विगतमा दैनिक ४५ लाख गोटा अण्डा उत्पादन हुने गरेकामा अहिले २८ लाखको हाराहारीमा सीमित भएको छ।
मूल्य बढे पनि किसानलाई अझै घाटा
गत जेठ अन्तिममा प्रतिक्रेट ५ सय ५० रुपैयाँ पुगेको अण्डा पछि घटेर ४ सय ५० रुपैयाँमा झरेको थियो।
अहिले मूल्य बढेर ५ सय रुपैयाँ पुगे पनि किसानले अझै लागत मूल्य पाएका छैनन्। एक क्रेट अण्डा उत्पादन गर्न रु ५ सय ७३ रुपैयाँ ६० पैसा लागत पर्ने सङ्घले जनाएको छ।
अध्यक्ष पोखरेलले बर्डफ्लुका कारण मारमा परेका किसानलाई राज्यले राहत दिनुपर्ने माग गर्दै, अब छिट्टै किसानले लागत मूल्यसम्म पाउन सक्ने आशा व्यक्त गर्नुभएको छ।
साउन ६, २०८३ बुधबार ०७:३२:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।