रास्वपा कैलालीको नयाँ कार्यसमितिले पायो आधिकारिक मान्यता
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनलाई आधिकारिकता प्रदान गरेको छ।
अधिवेशनका क्रममा भएका प्रक्रिया र उजुरीउपर छानबिन गरेर आयोगले साउन १ गते निर्वाचित नयाँ कार्यसमितिलाई वैधानिकता दिएको हो।
आयोगका प्रमुख भुवन केसीले जेठ २४ गते सम्पन्न अधिवेशन पार्टीको जिल्ला अधिवेशन कार्यविधि र जिल्ला निर्वाचन कार्यविधि अनुरूप विधिसम्मत सम्पन्न भएको देखिएकोले आधिकारिक मान्यता दिइएको बताए।
आयोगले उजुरीहरूका बारेमा आवश्यक अध्ययन गर्दा सम्पूर्ण प्रक्रिया र सिद्धान्तहरूको पूर्ण पालना भएको देखिएकाले निर्वाचन परिणामलाई यथावत् कायम राख्ने निर्णय गरेको परिपत्रमा उल्लेख छ।
जेठ २४ गते सम्पन्न जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा कवीन्द्र ठकुल्ला ३३५ मतसहित ठूलो मतान्तरले निर्वाचित भएका थिए। कुल ५०८ मतदातामध्ये ३९४ मत खसेको निर्वाचनमा उनका प्रतिद्वन्द्वीहरू महेशकुमार चौधरीले ३७ र हरि रेग्मीले २२ मत मात्र प्राप्त गरेका थिए।
यद्यपि, निर्वाचन प्रक्रिया पूर्ण रूपमा निर्विवाद भने रहेको थिएन। सभापतिका उम्मेदवारद्वय रेग्मी र चौधरीले निर्वाचन समिति अवैधानिक रहेको र मतदाता नामावलीमा धाँधली गरिएको आरोप लगाउँदै मतदान बहिष्कार गरेका थिए।
यसअघि उजुरी परेपछि कैलालीको अधिवेशन रद्द गरिएको थियो। उजुरीमाथि केन्द्रीय निर्वाचन आयोगले छानबिन गरेर अन्ततः सोहि निर्वाचित कार्यसमितिलाई नै आधिकारिकता दियो।
आयोगले आधिकारिकता प्रदान गरिएको निर्णयबारे सभापति, महामन्त्री, केन्द्रीय संगठन विभाग र सुदूरपश्चिम प्रदेश समितिलाई जानकारी गराएको छ।
नवनिर्वाचित जिल्ला सभापति ठकुल्लाले आयोगको निर्णयले प्रतिनिधिहरूको मत र लोकतान्त्रिक प्रक्रियाको सम्मान भएको बताए। उनले आगामी दिनमा व्यक्तिगत आग्रह-पूर्वाग्रहभन्दा माथि उठेर संगठन निर्माणमा सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।
साउन ४, २०८३ सोमबार १७:३६:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।