दिल्लीमा 'संसद मार्च' रोक्न प्रहरीद्वारा बल प्रयोग, अभिजीत दीपकेलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको दाबी
एजेन्सी : भारतको राजधानी नयाँ दिल्लीमा सोमबार कक्रोच जनता पार्टी (सीजेपी)को आयोजनामा जारी 'संसद् मार्च'को क्रममा पार्टीका संस्थापक अभिजीत दीपकेलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ।
सीजेपी प्रवक्ता सौरव दासले दीपकेलाई प्रहरीले पक्राउ गरेको दाबी गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीहरूको समर्थनमा ऐक्यबद्धता जनाउन सांसदहरूलाई अपिल गरेका छन्।
सोमबार बिहान सीजेपी संस्थापक दीपके र सोनम वाङचुककी पत्नी गीताञ्जली जे अंगमोको नेतृत्वमा प्रदर्शनकारीहरू संसद् भवनतर्फ अघि बढेका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले ब्यारिकेड लगाएर उनीहरूलाई रोक्ने प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्याँस प्रहार गर्दै बल प्रयोग गरेको थियो। अत्यधिक गर्मी र वर्षाका बीच भइरहेको प्रदर्शनका क्रममा केही प्रदर्शनकारीहरू बेहोस समेत भएका थिए।
स्वास्थ्यमन्त्रीसँग भेट र वार्ताको दाबी
आन्दोलनका बीच सीजेपीका आशुतोष रांकाले केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डासँग उनको निवासमा भेटवार्ता गरेको दाबी गरिएको छ। सरकारको तर्फबाट वार्ताको पहल भएपछि मन्त्री नड्डासँग करिब १० मिनेट छलफल भएको प्रवक्ता दासले जानकारी दिए।
भेटका क्रममा पार्टीको मागपत्र बुझाइएको र मन्त्री नड्डाले ती मागहरूमाथि आन्तरिक छलफल गर्ने आश्वासन दिएको भनिएको छ। यद्यपि, प्रवक्ता दासले ठूलो संख्यामा प्रदर्शनकारीहरूलाई प्रहरीले हिरासतमा लिएको र प्रदर्शन जारी रहने उल्लेख गरेका छन्।
सीजेपीले सामाजिक सञ्जालमार्फत सुरक्षा र प्रतिकूल मौसमका बाबजुद शान्तिपूर्ण रूपमा संसद् मार्च जारी राख्ने भनेको छ। सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा सुरक्षाकर्मी र आन्दोलनकारीबीच धकेलाधकेल भएको दृश्य देखिन्छ। प्रहरीले भने कानुन विपरीत अघि बढ्न खोज्ने समूहलाई रोक्न आवश्यक सुरक्षा कदम चालिएको जनाएको छ।
साउन ४, २०८३ सोमबार १६:०८:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।