कपडाको आकार दिएर सवा ४ किलो कोकिन तस्करी : काठमाडौंमा दुई विदेशी महिला पक्राउ
काठमाडौं : कपडाको आकार दिएर लागुऔषध कोकिन तस्करी गरेको आरोपमा दुई विदेशी महिला पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरोले सोमबार जारी गरेको विज्ञप्तिअनुसार सिलिकनमा मिसाएर कपडाको आकार दिई चार किलो २५८ ग्राम कोकिन तस्करी गरिएको थियो।
पक्राउ पर्नेमा एक जना कोलोम्बियन नागरिक र एक जना भारतीय नागरिक रहेको लागुऔषध नियन्त्रण ब्युरोका डिएसपी जीवन निरौलाले जानकारी दिए। कोलम्बियन नागरिक ६२ वर्षीया योनेथ गार्जन काइसेडो असार ३१ गते कतार एयरवेजको जहाजमार्फत कोलम्बियाबाट दोहा हुँदै काठमाडौं आएकी थिइन्।
उनलाई शङ्काको आधारमा काठमाडौं महानगरपालिका-१६, ठमेलबाट नियन्त्रणमा लिइएको थियो। उनको साथमा रहेको सुटकेस खानतलासी गर्दा फल्स बटमभित्र राखिएका ब्ल्याङ्केट, म्याट, ज्याकेट, एप्रोन र नेक पिलोभित्र सिलिकनमा मिसाएर लुकाइएको अवस्थामा कोकिन प्रहरीले बरामद गरेको थियो।
उक्त विषयमा थप अनुसन्धान गर्दा उक्त कोकिन बुझ्न भारतको मणिपुरबाट काठमाडौं आएकी ३७ वर्षीया भारतीय नागरिक रेबेक्का पुल्लेलाई साउन ३ गते पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
उनीहरूको साथबाट चार किलो २५८ ग्राम कोकिन (सिलिकन सहित), राहदानी थान १, भारतीय निर्वाचन आयोगको कार्ड थान १, २०० अमेरिकी डलर, चार वटा मोबाइल फोन र एउटा सुटकेस बरामद गरिएको निरौलाले जानकारी दिए।
साउन ४, २०८३ सोमबार १४:३४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।