वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्यो, एकै वर्षमा श्रम स्वीकृति ५.६ प्रतिशतले कमी

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्यो, एकै वर्षमा श्रम स्वीकृति ५.६ प्रतिशतले कमी

काठमाडौं : आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटेको छ। 

वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा नयाँ र पुनः गरी कुल ७ लाख ९२ हजार १८७ जनाले श्रम स्वीकृति लिएका छन्।

यो संख्या अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ५.६ प्रतिशत (४७ हजार ७९ जना) ले कम हो। अघिल्लो वर्ष ८ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका थिए। 

रेमिट्यान्समा आधारित नेपालको अर्थतन्त्रका लागि यो गिरावटलाई चासोका साथ हेरिएको छ। विभागका अनुसार समीक्षा अवधिमा अमेरिका–इरान युद्धका कारण खाडी मुलुकतर्फको हवाई उडान प्रभावित हुनुलाई पनि यसको एक कारण मानिएको छ।

गत आर्थिक वर्षमा जारी गरिएका श्रम स्वीकृतिमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिलाका लागि थिए। कुल श्रम स्वीकृतिमध्ये ८८ प्रतिशत पुरुष र १२ प्रतिशत महिला रहेको तथ्यांकले नेपालको वैदेशिक रोजगारी अझै पनि मुख्यतः पुरुषकेन्द्रित रहेको देखाउँछ।

विभागको तथ्यांकअनुसार इजाजतप्राप्त वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) मार्फत विदेश जाने नेपालीको संख्या उल्लेखनीय रूपमा घटेको छ। गत आर्थिक वर्षमा म्यानपावर कम्पनीमार्फत २ लाख ६८ हजार ९९० जना विदेश गएका छन्। अघिल्लो वर्ष यस्तो संख्या ३ लाख ५९ हजार ६७५ थियो।

यस्तै, व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिएर विदेश जानेको संख्या १ लाख २८ हजार ५२० पुगेको छ। यसमध्ये ९८ हजार ८४१ पुरुष र २९ हजार ६७९ महिला छन्। व्यक्तिगत रूपमा विदेश जाने समूहमा महिलाको हिस्सा २३.०९ प्रतिशत रहेको छ, जुन म्यानपावर कम्पनीमार्फत जाने महिलाको अनुपातभन्दा दोब्बरभन्दा बढी हो।

सरकार–सरकार (जीटूजी) प्रणालीअन्तर्गत गत आर्थिक वर्षमा ८ हजार १९७ जना नेपाली कामदार विदेश गएका छन्। यसमध्ये ६ हजार ९४५ पुरुष र १ हजार २५२ महिला रहेका छन्।

वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) नेपाली कामदारको सबैभन्दा ठूलो गन्तव्य बनेको छ। गत आर्थिक वर्षमा १ लाख ८३ हजार ५८० जनाले यूएईका लागि श्रम स्वीकृति लिएका छन्, जुन कुल स्वीकृतिको २३.१७ प्रतिशत हो।

त्यसपछि मलेसियामा १ लाख ३२ हजार ६४६ (१६.७४ प्रतिशत), कतारमा १ लाख ३२ हजार ५१ (१६.६७ प्रतिशत), साउदी अरेबियामा १ लाख २४ हजार ५८३ (१५.७३ प्रतिशत) र कुवेतमा ४३ हजार ३६० (५.४७ प्रतिशत) नेपाली कामदारले श्रम स्वीकृति लिएका छन्। यी पाँच देशमा मात्रै ६ लाख १६ हजार २२० नेपाली पुगेका छन्, जुन कुल श्रम स्वीकृतिको ७७.७९ प्रतिशत हो।

युरोपतर्फ रोमानिया नेपाली कामदारका लागि सबैभन्दा ठूलो गन्तव्य बनेको छ। गत आर्थिक वर्षमा ३३ हजार ९२० जनाले रोमानियाका लागि श्रम स्वीकृति लिएका छन्। त्यसपछि जापान (२२ हजार २६६), ओमान (११ हजार ६३३), साइप्रस (११ हजार ६९) र बहराइन (९ हजार ३३६) नेपाली कामदारका प्रमुख गन्तव्य बनेका छन्।

साउन ४, २०८३ सोमबार १३:५८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।