शुक्लाफाँटा निकुञ्जमा च्याउ टिप्न गएर हराएका महिलाहरू सकुशल सम्पर्कमा

शुक्लाफाँटा निकुञ्जमा च्याउ टिप्न गएर हराएका महिलाहरू सकुशल सम्पर्कमा

एजेन्सी : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएर हराइरहेका महिलाहरु सकुशल सम्पर्कमा आएका छन्।

गत आइतबारदेखि सम्पर्कविहीन भएका भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरु नेपाली सेनाको खोजीपछि सुरक्षित रूपमा परिवारको सम्पर्कमा पुगेका हुन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको रणसिंह दल गणका गणपति तथा प्रमुख सेनानी प्रकाश घिमिरेले हराइरहेका महिलाहरु परिवारको सम्पर्कमा आइसकेको जानकारी दिए।

‘सबै सुरक्षा संयन्त्र परिचालन गरेर निकुञ्जभित्र खोजीकार्य व्यापक पारिएको थियो,’ उनले भने, ’केहीबेर अघि मात्रै उनीहरु परिवारको सम्पर्कमा आएको र सबै सुरक्षित रहेको खबर प्राप्त भएको छ।’

यसैगरी, आइतबार साँझदेखि नै निकुञ्जभित्र हराइरहेका बेलडाँडी गाउँपालिका-२ का अन्य तीन जना महिलालाई भने सेनाको रणसिंह दल गणका सहसेनानी सुमन जिसी नेतृत्वको टोलीले सोमबार बिहानै सकुशल उद्धार गरेको थियो। उद्धारलगत्तै उनीहरुलाई परिवारको जिम्मा लगाइएको छ।

निकुञ्जभित्र अवैध रूपमा च्याउ टिप्न गएका महिलाका तीनवटा समूह सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासनको संयुक्त टोली खोजीकार्यमा जुटेको थियो।

साउन ४, २०८३ सोमबार १३:१४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।