पृथ्वी राजमार्ग : चितवनतर्फको पहिरो हटाइयो, धादिङ खण्ड अवरुद्ध हुँदा आवतजावत ठप्प

पृथ्वी राजमार्ग : चितवनतर्फको पहिरो हटाइयो, धादिङ खण्ड अवरुद्ध हुँदा आवतजावत ठप्प
फाइल तस्बिर

चितवन : पृथ्वी राजमार्गअन्तर्गत चितवन खण्डमा खसेको पहिरो पन्छाइएको भए पनि धादिङतर्फ सडक अवरुद्ध हुँदा सवारी आवागमन सञ्चालन हुन सकेको छैन।

सोमबार बिहान इच्छाकामना गाउँपालिका–२ स्थित फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको थियो। डिभिजन सडक कार्यालय र प्रहरीको सक्रियतामा पहिरो पन्छाएर बिहान ९:० बजेदेखि चितवनतर्फको सडक सञ्चालनमा ल्याइएको छ।  
    
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार धादिङको जवाङ खोलामा पहिरो झरेकाले चितवनतर्फको पहिरो पन्छाए पनि गाडी सञ्चालन हुन भने सकेको छैन। चितवनतर्फका गाडीलाई चुम्लिङटार, कुरिनटार र मुग्लिनमा रोकिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डबाट पोखरातर्फ जाने आउने गाडी बिहानैदेखि सञ्चालनमा छन्। 

स्थानीय प्रशासनले पहिरोको जोखिम हुनसक्ने जनाउँदै गएरातिदेखि सवारीसाधन आवागमनमा रोक लगाएको थियो। 

नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा सवारी रोकिएको हो। गए रातिबाट रोकिएका सवारीसाधन अझैसम्म सञ्चालन हुन नसक्दा सडकमा सवारीको लाम लागेको छ । 

साउन ४, २०८३ सोमबार ११:११:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।