च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला, १४ जना सम्पर्कविहीन
महेन्द्रनगर : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७ जनामध्ये तीन जना महिलालाई नेपाली सेनाले सकुशल फेला पारेको छ भने बाँकी १४ जना भने अझै सम्पर्कविहीन छन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान शुक्लाफाँटा निकुञ्जभित्र जङ्गलमा बेल्डाडी गाउँपालिका–२ का लक्ष्मी थापामगर, सीता चौधरी र मञ्जु राना क्षेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको सेनाले जनाएको छ।
तीन जनालाई निकुञ्जभित्रको लल्लेरी पोष्टबाट करिब चार किलोमिटर टाढाको दूरीमा सेनाले फेला पारेको हो। सेनाका अनुसार बेल्डाडीका तीनै जना आइतबार लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए।
यसैबीच, भीमदत्त नगरपालिका–१९ बागफाँटाबाट आइतबार दिउँसो च्याउ खोज्नकै लागि निकुञ्ज छिरेका अन्य १४ जना महिलाको समूह भने अझै सम्पर्कविहीन छ। रणसिंह दल गणका अनुसार सम्पर्कविहीन महिलाहरुको खोजीकार्यका लागि ठूलो सङ्ख्यामा निकुञ्जभित्र सैनिक टोली परिचालन भएको छ।
बागफाँटा क्षेत्रबाट आइतबार दिउँसो महिला च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले निकुञ्जभित्र सम्पर्कविहीन भएका महिलाहरुको खोजी भइरहेको जानकारी दिए।
साउन ४, २०८३ सोमबार १०:४१:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।