विश्वकपबाट फिफालाई अनुमानभन्दा झन्डै ४ अर्ब डलर बढी आम्दानी

विश्वकपबाट फिफालाई अनुमानभन्दा झन्डै ४ अर्ब डलर बढी आम्दानी

काठमाडौं : फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा) का लागि आर्थिक इतिहासमै नयाँ कीर्तिमान कायम गरेको छ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यस प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको जानकारी दिएका छन्।

यो आम्दानी फिफाले प्रतियोगिता सुरु हुनुअघि गरेको ११ अर्ब डलरको प्रारम्भिक अनुमानभन्दा झन्डै ४ अर्ब डलरले बढी हो।

फिफाका अनुसार टिकट बिक्री, हस्पिटालिटी प्याकेज र दोस्रो बजारमा भएको टिकट कारोबारबाट अपेक्षाभन्दा निकै बढी आम्दानी भएको हो।

विशेषगरी, दोस्रो बजारमा टिकट खरिद-बिक्री हुँदा फिफाले खरिदकर्ता र विक्रेता दुवैबाट १५/१५ प्रतिशत (कुल ३० प्रतिशत) सेवा शुल्क लिने व्यवस्था गरेकाले आम्दानीमा उल्लेख्य वृद्धि भएको हो।

यस ऐतिहासिक कमाइपछि विश्वभरका २०० भन्दा बढी सदस्य फुटबल संघहरूले फिफाबाट प्राप्त गर्ने वार्षिक आर्थिक सहयोग वा अनुदानमा वृद्धि हुने अपेक्षा गरेका छन् । यद्यपि, रकम वितरणको मोडालिटीबारे फिफाले अन्तिम निर्णय गर्न बाँकी छ।

आगामी मार्चमा हुन लागेको फिफा अध्यक्षको निर्वाचनअघि यो वित्तीय सफलतालाई जियानी इन्फान्टिनोको ठूलो उपलब्धिका रूपमा हेरिएको छ। विभिन्न विवादका बाबजुद इन्फान्टिनोले २०० भन्दा बढी सदस्य राष्ट्रको समर्थन प्राप्त गरिसकेका छन्।

विश्वकपको ठूलो आम्दानी र बढ्दो अनुदानको आशामा रहेका सदस्य राष्ट्रहरूले पनि इन्फान्टिनोको नेतृत्वप्रति अहिले सार्वजनिक रूपमा कुनै असन्तुष्टि व्यक्त गरेका छैनन्।

यसपटकको आर्थिक सफलताले भविष्यमा अमेरिकाले पुनः विश्वकप आयोजना गर्ने सम्भावनालाई बलियो बनाएको छ। सन् २०३८ को विश्वकप आयोजनाका लागि चाँडै बोलपत्र (बिडिङ) खुल्ने तयारी छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिका पुनः विश्वकप आयोजना गर्न इच्छुक रहेको सङ्केत दिएका छन्।

उनले आगामी दिनमा अमेरिकाले ‘एकल’ आयोजना गर्ने चाहना व्यक्त गर्दै यसपटकको जस्तो क्यानडा र मेक्सिकोलाई सह-आयोजक नबनाउने टिप्पणीसमेत गरेका छन्।

साउन ४, २०८३ सोमबार ०९:५१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।