फिस्लिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी

फिस्लिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी
फाइल तस्बिर

चितवन : पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-२ स्थित फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

आज बिहान २:२० बजे पहिरो खसेपछि सवारी आवागमन ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ।

बिहान नौ बजेसम्ममा पहिरो पन्छाएर सडक सुचारु गर्ने लक्ष्यका साथ काम भइरहेको उनले जानकारी दिए।

अत्यधिक वर्षाका कारण बाढी र पहिरोको उच्च जोखिम रहेकाले स्थानीय प्रशासनले पूर्वसतर्कता अपनाउँदै आइतबार राति १० बजेदेखि नै यो सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो।

नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्गको चितवन खण्डमा खसेको पहिरो पन्छाएपछि मात्रै यातायात सुचारु हुने प्रहरीले जनाएको छ।

यद्यपि, नारायणगढ-मुग्लिन सडक हुँदै पोखरातर्फ जाने सवारीसाधनहरू भने सञ्चालनमा रहेको जानकारी दिइएको छ।

साउन ४, २०८३ सोमबार ०८:४८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।