धेरै स्थानमा वर्षा र केही प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभावका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेकाले वर्षाको गतिविधि बढेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू-भागका धेरै स्थानहरू तथा तराईका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको समेत सम्भावना छ।
महाशाखाका अनुसार आज कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि देशभर बदलीको अवस्था रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा हुने देखिन्छ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
भारी वर्षा र चट्याङको जोखिम रहेका क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपबाट बच्न र दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन तथा यातायात क्षेत्रमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारी अपनाउन विभागले सूचित गरेको छ।
साउन ४, २०८३ सोमबार ०७:३४:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।