बसको सिटमा रहेको क्युआर स्क्यान गर्दा एउटाबाट टिजर चल्छ, अर्कोबाट हलको टिकट!
काठमाडौं : सिङ्गो देशलाई स्तब्ध बनाएको भदौ १० गते बिहान अचानक रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको असर नेपाली फिल्म क्षेत्रमा पनि देखियो। देशले खेप्न परेको भयानक विपत्तिमध्येको एक भोटेकोशी बाढीले निकै ठूलो क्षति पुर्याउँदा यता फिल्म क्षेत्र पनि ठप्प बन्यो।
शोकको यही घडीमा प्रदर्शनको तयारीमा रहेका फिल्महरू ‘ककाकिकी’, ‘बा: एक योद्धा’ र ‘माया भनेको यस्तो होला’ले आफ्नो रिलिज स्थगित गरे। ठूला फिल्मको प्रदर्शन रोकिएसँगै सुस्ताइरहेको फिल्म क्षेत्र अब भने बिस्तारै लयमा फर्कने प्रयासमा देखिन्छ।
बाढी गएको १० बित्ता नेपाली फिल्म निर्माण तथा निर्देशक आफ्ना फिल्मको प्रचारमा जुट्न थालेका छन्। सोही क्रममा असोज २ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘झिँगे दाउ २’ले भने प्रचारप्रसारमा प्रविधिलाई जोड्दै नौलो शैली अपनाएको छ। फिल्म रिलिज हुन अब दुई साता मात्र बाँकी रहँदा निर्माण टिमले गाडीको सिटमा कभर बनाएर प्रचारप्रसारमा फरक अभ्यास थाल्यो।
यसअघि फिल्मकर्मीहरूले गाडीको दायाँबायाँमा पोस्टर राखेर प्रचार गर्ने गरेको देखिन्थ्यो। तर यस फिल्मको भने ८० वटा गाडीको सिटमा कभर बनाएर प्रचार सुरु गरियो। फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाका अनुसार यो काठमाडौंका सडकमा गुड्ने नेपाल यातायातमा राखिएको छ। यसमा यात्रा गर्ने अधिकांश दर्शकले फिल्मको बारेमा प्रत्यक्ष जानकारी पाउने निर्देशक देउजाको भनाई छ।
भिन्न प्रचार शैली अपनाएको झिँगेदाउ २ का टिमले नेपाल यातायातको सिट कभरका साथै फिल्मको २ वटा क्यूआर समेत राखेको देख्न सकिन्छ। उक्त कभरमा रहेको एउटा क्यूआरबाट फिल्मको टिजर हेर्ने सकिन्छ भने अर्को क्यूआरबाट क्यूएफएक्स चेनका सबै हलमा टिकट काट्न सकिने व्यवस्था गरिएको निर्देशक देउजाले जानकारी दिए।
फिल्ममा केकी र आँचलको साथमा महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी,विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारहरूको अभिनय छ। कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको ब्यानरमा निर्माण भएको फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी छ।
रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा फिल्मका सह-निर्माता हुन्। विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन छ। परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन रहेको यो फिल्म ‘झिँगे दाउ’को सिक्वेल हो।
भदौ १९, २०८३ शुक्रबार १८:३५:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।