'कंगाल करोडपति' बन्दै मुकुन भुषाल

'कंगाल करोडपति' बन्दै मुकुन भुषाल

काठमाडौं : कृष्ण अष्टमीको दिन पारेर शुक्रबार बिहान कमलादीस्थित गणेश मन्दिरमा फिल्म ‘कंगाल करोडपति’को शुभ-मुहूर्त गरियो। 

मुकुन भुषालको मुख्य भूमिका रहने फिल्मको शुभ मुहूर्त कार्यक्रममा निर्माण टिमले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको सहयोगार्थ ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गर्यो। 

साथै शुभ मुहूर्तसँगै रसुवा, नुवाकोट र धादिङमा भएको बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति मौनधारण गर्दै श्रद्धाञ्जली व्यक्त गरियो भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरियो।

राजु श्रेष्ठको निर्देशनमा निर्माण हुने फिल्म ‘कंगाल करोडपति’ भदौ २९ गतेदेखि फ्लोरमा जाने तयारीमा छ। फिल्मका निर्माता अनिल कुमार बुढाथोकीले अहिले फिल्मको शुभ मुहूर्त मात्रै गरेको जानकारी दिँदै दश दिनपछि मात्र फ्लोरमा जाने बताए।

पछिल्लो समय मुकुन भुषालको फिल्म नचलेता पनि उनको व्यस्तता भने बढेको देखिन्छ। प्रवीण आचार्यको प्रस्तुतिमा निर्माण हुने यस फिल्ममा मुकुनका अलवा मन्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी, भीमसेन खतिवडाको पनि अभिनय रहने निर्माण पक्षले जानकारी दियो।

फिल्मका सह-निर्मातामा अश्विन बराल, दीपेश तिरुवा तथा प्रविन राई रहेका छन्। रिता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसर रहेको यस फिल्मको कथा रामकृष्ण बजगाईंले लेखेका हुन् भने संवाद तथा पटकथा चानस पुन मगरले लेखेका हुन्।

सामाजिक तथा पारिवारिक विषयवस्तुमा आधारित रहने फिल्म सिनेमा पाठशालाको ब्यानरमा निर्माण हुने छ। फिल्ममा एसडी योगी, निराजन राई र दिप्सन लिम्बूसहित तीन जना संगीतकारको संगीत रहनेछ भने नृत्य निर्देशन प्रदीप लामाले गर्नेछन्।

जीवन गौतम मुख्य सह निर्देशक रहेको फिल्ममा हरि घले लामाको छायांकन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ। साथै फिल्ममा निर्माण नियन्त्रक सरोज श्रेष्ठ र कला निर्देशक सुदीप अधिकारी रहेका छन्।

भदौ १९, २०८३ शुक्रबार १७:३६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।