सुरु भयो ‘रत्यौली’को सुटिङ, फागुन २१ मा सुदर्शन थापाको ‘शुभ विवाह’सँग भिड्ने

सुरु भयो ‘रत्यौली’को सुटिङ, फागुन २१ मा सुदर्शन थापाको ‘शुभ विवाह’सँग भिड्ने

काठमाडौं : अभिनेत्री तथा निर्मात्री पूजा शर्मा फिल्म ‘महाराजधिराज’को छायांकन सकिएलगत्तै आफ्नो नयाँ फिल्म ‘रत्यौली’को काममा व्यस्त भएकी छन्।  उनको लगानी र अभिनय रहने फिल्म ‘रत्यौली’को मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा स्क्रिप्ट पूजा गरी औपचारिक छायांकन सुरु गरिएको छ।

बाढी–पहिरोजस्ता प्राकृतिक विपत्तिका कारण केही समय रोकिएको छायांकन पुनः सुरु गरिएको पूजा शर्माले बताइन्। "बाढी–पहिरो जस्तो ठुलो विपत्तीले गर्दा सुटिङ रोकिएको थियो," पूजाले भनिन्, "देशमा यस्तो परिस्थिति आउँदा पनि हामी दुखको क्षणमा छौं। देशै रोइरहेको छ। तर पनि हामीले अब कर्म त गर्नेपर्छ। सोही अनुसारकै काममा फर्किएको हो।"

पूजाका अनुसार काठमाडौंमा दुई दिनसम्म फिल्मको छायांकन हुनेछ। त्यसपछि शुक्रबार कलाकार तथा प्राविधिक टोलीसहित दोलखाको जिरी प्रस्थान गर्ने तयारी छ। जिरीमा करिब एक महिनासम्म फिल्मको छायांकन गरिनेछ।

यसअघि प्रायः प्रदीप खड्का र पल शाहजस्ता स्टारहरूसँग जोडी बाँध्दै आएकी पूजाले यसपटक भने थिएटर पृष्ठभूमि भएका सशक्त अभिनेता विजय बरालसँग स्क्रिन सेयर गर्दैछिन्। फिल्ममा उनीहरूसँगै लक्ष्मी बर्देवा, अर्जुन देवसन, सम्रान्त थापा, निर्भिक भण्डारी, अल्बिन श्रेष्ठ, कायरा कार्की, सुनिल तामाङ, माया थामी, सन्ध्या नेपाल, संगीता थापा मगर, सानु पाण्डेय, एभोन राज उप्रेती र कल्पना थापालगायतका कलाकारहरूको अभिनय रहनेछ।

नाइटेङ्गल इन्टरटेनमेन्ट प्रा.लि. र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बन्न लागेको यस फिल्मका निर्माता सुरज आचार्य हुन्। हरि हुमागाईं र उत्तम हुमागाईंको छायांकन, सुनिल निउरेको मुख्य सहायक निर्देशन तथा अर्जुन पोखरेल र सुरेश अधिकारीको संगीत रहनेछ। फिल्मको प्रोडक्सन म्यानेजर दीपेन्द्र गौतम ‘माइकल’ हुन्।

फिल्म ‘रत्यौली’ आगामी फागुन २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। विशेष कुरा के छ भने, सोही मितिमा प्रदीप खड्का र सनिशा भट्टराई अभिनित फिल्म ‘शुभ विवाह’ पनि रिलिज हुँदैछ।

शुभ विवाह'का निर्देशक सुदर्शन थापा र पूजा शर्माबीच गत वर्ष रिलिज भएको फिल्म ‘रावायण’को आर्थिक लेनदेनलाई लिएर विवाद परेको थियो। यस्तो पृष्ठभूमिमा पूजा र सुदर्शन फिल्म एकै मितिमा रिलिज हुदैछन्। फागुन २१ को बक्स अफिस भिडन्तमा कुन फिल्मले बाजी मार्छ भन्ने कौतूहल कायमै छ।

भदौ १७, २०८३ बुधबार १८:४२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।