पुराना सदस्य मिलाउने प्रस्ताव नमिलेको बेलामा कांग्रेस असन्तुष्ट समूहको नयाँ सर्त, पदाधिकारी नै मर्ज गर्ने नयाँ प्रस्ताव
काठमाडौं : पार्टी सदस्यता नवीकरण र विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिप्रति असहमति राख्दै आएको नेपाली कांग्रेसको असन्तुष्ट समूहले आगामी महाधिवेशनमा सहभागी हुन पाँच बुँदे सर्त अगाडि सारेको छ।
अलग कार्यालय खोलेर समानान्तर गतिविधि गर्दै आएको पूर्णबहादुर खड्कासहितको समूहले कार्यसमिति मर्ज सदस्यता नवीकरणको मान्यतासम्मका विषय अगाडि सारेका हुन्। विज्ञप्तिमार्फत सार्वजनिक भएको बुँदामा १४ औँ महाधिवेशनको कार्यसमिति र विशेष महाधिवेशनको पुरै कार्यसमिति मिलाउनु पर्ने सर्त मुख्य रूपमा अगाडि सारिएको छ।
गगन थापाले प्रारम्भदेखि नै विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा पुरानो महाधिवेशनबाट निर्वाचितहरुलाई मिलाउन नसकिने सार्वजनिक रूपमै बताइसकेका छन्। यस अगाडि १४ औँ महाधिवेशनका केन्द्रीय सदस्यहरूलाई वर्तमान कार्यसमितिमा समेट्न माग गर्दै आएको असन्तुष्ट समूहले आइतबार कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई नै विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाउन माग राखेका छन्।
दोस्रोमा सभापति थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति बनाउने, पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने, अहिलेको कार्यसमितिको बहुमत रहने गरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरू बनाउने समेत उनीहरूको प्रस्ताव रहेको छ।
पार्टीमा सबैभन्दा पेचिलो सदस्यता नवीकरण बन्दै आएको छ। असन्तुष्ट पक्षले पार्टीभित्र विवाद हुनु पहिले नै वर्तमान सभापति थापा (तत्कालीन महामन्त्री) संयोजक रहेको समितिले टुङ्ग्याएका सबै क्रियाशील सदस्यलाई १५ औँ महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था गर्न प्रस्ताव गरेका छन्।
यसका लागि उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने तर डिजिटल इन्ट्रीलाई पुनः नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने–नपाउने विषयसँग नजोड्ने सर्त राखेको छ।
साउन ३, २०८३ आइतबार १८:२३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।