काठमाडौंको टेकुमा गोली चलाएर प्रहरीले समात्यो ३ जना लागुऔषध कारोबारी

काठमाडौंको टेकुमा गोली चलाएर प्रहरीले समात्यो ३ जना लागुऔषध कारोबारी

काठमाडौं : काठमाडौंको टेकुमा प्रहरीले गोली चलाएर ठूलो परिमाणको लागूऔषधसहित तीन जना कारोबारीलाई नियन्त्रणमा लिएको छ। 

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको विशेष प्रहरी टोलीले आइतबार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भारतको रुपडियाका २५ वर्षीय राज सोनी,  नेपालगन्जका १७ वर्षीय निखिल सोनी र सुर्खेतका १९ वर्षीय शोफिया मगर रहेका छन्। प्रहरीले उनीहरूको साथबाट २४ हजार ७ सय क्याप्सुल टपेन्डाडोल बरामद गरेको छ।

ब्यूरोका प्रहरी नायव उपरीक्षक जिवन निरौलाका अनुसार काठमाडौं उपत्यकामा लागूऔषध सप्लाई गर्ने गिरोहमाथि भइरहेको सूक्ष्म निगरानीका क्रममा उनीहरू फेला परेका हुन्। 

भारतको रुपडियाबाट काठमाडौं उपत्यकासम्म लागूऔषध 'टपेन्डाडोल' ल्याई कारोबार गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो। सो क्रममा प्रहरी टोलीमाथि नै आक्रमण गरी भाग्न खोजेपछि प्रहरीले चेतावनी स्वरूप हवाई फायर गरेको थियो।  

चेतावनी दिँदा समेत नरोकी भागेपछि प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक राज सोनी घाइते भएका छन्।सोनीको दाहिने खुट्टाको घुँडामा एक राउन्ड र बायाँ खुट्टाको घुँडामुनी एक राउन्ड गरी जम्मा दुई राउन्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ। घाइते सोनीको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।  

पक्राउ परेका तीनै जनामाथि लागूऔषध नियन्त्रण ब्यूरोले थप आवश्यक अनुसन्धान अगाडि बढाएको डिएसपी निरौलाले जानकारी दिएका छन्।  

साउन ३, २०८३ आइतबार १८:०१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।