चन्द्रागिरीबाट ठूलो परिमाणको लागूऔषधसहित दुई जना प्रहरीको नियन्त्रणमा

चन्द्रागिरीबाट ठूलो परिमाणको लागूऔषधसहित दुई जना प्रहरीको नियन्त्रणमा

काठमाडौं : काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डाबाट सशस्त्र प्रहरी बलले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपालका डिएसपी शैलेन्द्र थापाका अनुसार काठमाडौं कीर्तिपुर नगरपालिका–९ पाँगादोबाटो बस्ने ३९ वर्षीय अनिल देउला र उदयपुर घर भई हाल चन्द्रागिरी–४ नैकाप बस्ने २४ वर्षीया सुमित्रा राईलाई  नियन्त्रणमा लिएको हो।

विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको टोलीले सुरुमा अनिल देउलालाई ५० वटा बक्समा राखिएको १५ हजार क्याप्सुल ट्रामाडोलसहित ढुङ्गेअड्डाबाट नियन्त्रणमा लिएको थियो। सो क्रममा उनले प्रयोग गरेको बा ७७ प ७८०० नम्बरको स्कुटर समेत सशस्त्र प्रहरीले बरामद गरेको छ।

अनुसन्धानका क्रममा देउला बस्ने कोठामा खानतलासी गर्दा त्यहाँबाट थप ठूलो परिमाणमा लागूऔषध र नगद फेला परेको हो। उनको कोठाबाट डाईजापाम तथा फेनारगन १ हजार १ सय ८८ वटा ट्याब्लेट, ३ हजार ७ सय ७० वटा ट्रामाडोल र १ सय ५० वटा पोलेन (नाइट्राभेट) सहित सुमित्रा राईलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

साथै, उक्त कोठाबाट नगद १ लाख ३९ हजार १ सय ६५ रुपैयाँ र ३ थान मोबाइल सेट समेत बरामद गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद गरिएका सम्पूर्ण लागूऔषध, नगद, स्कुटर र मोबाइलसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।

साउन ३, २०८३ आइतबार १७:१३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।