‘पपुलिज्म’ को भद्दा अभ्यास र अराजकताले राजनीति थितिहीन बन्यो : ओली

‘पपुलिज्म’ को भद्दा अभ्यास र अराजकताले राजनीति थितिहीन बन्यो : ओली

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्था, सरकारको कार्यशैली र सामाजिक सञ्जालको बढ्दो दुरुपयोगप्रति तीखो टिप्पणी गरेका छन्। 

आइतबार पार्टीका सांसदहरूका लागि आयोजित विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मुलुकको राजनीति यतिबेला परिभाषाविहीन, दिशाविहीन र थितिविहीन अवस्थाबाट गुज्रिरहेको दाबी गरे।

लोकतन्त्रमा सरकार परिवर्तनका लागि स्पष्ट संवैधानिक र संसदीय बाटाहरू हुने उल्लेख गर्दै ओलीले वर्तमान सरकारको उदय नै अस्वाभाविक र त्रुटिपूर्ण रहेको आरोप लगाए। उनले अहिलेको सत्ता समीकरणको जग हिंसा, षड्यन्त्र र असंवैधानिक गतिविधिसँग जोडिएको भन्दै कडा आलोचना गरे।

उनले भने, "अहिलेको राजनीति परिभाषाविहीन राजनीति चलिरहेको छ। दिशाविहीन राजनीति, नीतिविहीन राजनीति, थितिविहीन राजनीति त्यस ढंगको राजनीति चलिरहेको छ। लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी, संसदीय बाटाहरू हुन्छन्। हिंसा, आगजनी, तोडफोड, कब्जा, असंवैधानिक जस्ता कुराहरू हुँदैनन्। अहिले बनेको सरकार, यसको प्रारम्भ नै मान्छे मार्ने, मराउने, षड्यन्त्र गराउनेबाट सुरु भएको सरकार हो।"

ओलीले पछिल्लो समय विचार र नीतिभन्दा पनि 'पपुलिस्ट' बन्ने भद्दा प्रयासले राजनीतिक मूल्य-मान्यतालाई कमजोर बनाएको तर्क राखे।

उनले भने, "यहाँ प्रश्न पपुलारिज्मको मात्र होइन। पपुलारिज्मको कुरा मात्र भए पपुलिस्ट ढंगले आफूलाई लोकप्रिय बनाउने प्रयास गर्नु। त्योभन्दा अगाडि पपुलिस्ट हुने भद्दा प्रयास भएको छ।"

यसैगरी, अध्यक्ष ओलीले प्रविधिको दुरुपयोग र सामाजिक सञ्जालका कारण समाजमा विकृति फैलिएको समेत बताए। सामाजिक सञ्जालमा कुनै उत्तरदायित्व, दर्ता वा जवाफदेहिता नहुँदा यसलाई स्वस्थ बहसको सट्टा निराधार, असत्य सूचना र भ्रम फैलाउने हतियार बनाइएको उनको भनाइ थियो।

उनले भने, "सामाजिक सञ्जालले असामाजिक ढंगले काम गर्ने र समाजमा भयानक ढंगले विकृति फैलाउने। सामाजिक सञ्जालबाट स्वस्थ बहस हुन सक्छन्। तर कोही उत्तरदायी नहुने, दर्ता हुन नपर्ने, जवाफदेहिता हुनु नपर्ने, प्रतिनिधित्व लिन नपर्ने र निराधार, असत्य कुराहरू यसबाट प्रचार गर्ने, भ्रम फैलाउने काम भयो।"

साउन ३, २०८३ आइतबार १६:२५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।