‘भर्चुअल दुनियाँमा मात्र सरकारको चर्चा, काम हेर्दा जनता सन्त्रस्त’
काठमाडौं : एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कामकारबाही यथार्थमा नभई केवल 'भर्चुअल दुनियाँ' मा मात्रै सिमित भएको आरोप लगाएका छन्।
पार्टी कार्यालय च्यासलमा आयोजित एमाले सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारको प्रचारवाजी र वास्तविक धरातलबीच ठूलो खाडल रहेको दाबी गरे।
महासचिव पोखरेलले सरकारको लोकप्रियता केवल भर्चुअल माध्यममा मात्रै परिचर्चाको विषय बनेको तर आम नागरिकले महसुस गर्ने गरी धरातलमा कुनै पनि काम हुन नसकेको टिप्पणी गरे।
उनले भने, "भर्चुअल दुनियाँमा त धेरै चर्चा–परिचर्चा छ, तर वास्तविक रूपमा यथार्थतामा काम कसरी भइरहेको छ भन्ने कुरा आम नागरिकहरूले महसुस गर्ने गरी कुनै काम हुन सकेको छैन। जनताले अत्यन्त लोकप्रिय जनादेश दिइसकेपछिको सरकारबाट जनता आश्वस्त हुने होइन, सन्त्रस्त बन्ने खालको जो परिवेश सिर्जना भएको छ, त्यो परिवेशभित्र हामी हाम्रो संसदीय दलको काम प्रभावकारी बनाउन सक्नुपर्छ ।
कार्यक्रम सुरु हुँदै गर्दा भएको लोडसेडिङलाई व्यङ्ग्य गर्दै उनले थपे, "कामबाहेक केही नगर्ने भन्ने प्रधानमन्त्रीको शासनमा विद्युत् आपूर्तिको पीडा बेहोर्दै हामी कार्यक्रम सुरु गर्दैछौँ। यसले पनि सरकारको काम गराई कस्तो छ भन्ने स्पष्ट देखाउँछ।"
महासचिव पोखरेलले सरकारले चालु वर्षमा डेढ सयभन्दा बढी कानुन संशोधन गर्ने तयारी गरेको प्रसंग कोट्याउँदै, लोकप्रिय जनादेश पाएको सरकारबाट जनता आश्वस्त हुनुपर्नेमा उल्टै सन्त्रस्त (डराउनुपर्ने) परिवेश सिर्जना भएको जिकिर गरे।
सरकारले कानुन सुधारका नाममा आफ्ना स्वार्थ अनुकूल कानुनको दुरुपयोग गरी स्वेच्छाचारी र अधिनायकवादी ढंगले राज्य सञ्चालन गर्ने जोखिम बढेको उनको भनाइ थियो।
"कानुनमा सुधार र संशोधन आवश्यक हुन्छ। तर जुन दृष्टिकोणका साथ सरकार अघि बढिरहेको छ, त्यसले गर्ने हेरफेर कानुन सुधारका लागि हो कि दुरुपयोगका लागि हो भन्ने कुरामा ध्यान दिनुपर्छ," उनले भने।
यस्तो चुनौतीपूर्ण र निराशाजनक परिस्थितिमा संसद्भित्र एमाले संसदीय दलको भूमिकालाई थप आक्रामक र प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा उनले जोड दिएका छन्।
साउन ३, २०८३ आइतबार १४:४९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।