पाँचदिने श्रीलंका भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड

पाँचदिने श्रीलंका भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँच दिने राजनीतिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। आइतबार बिहान ११:५५ बजे काठमाडौंमा आइपुगेका प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपाका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए।

गत जुलाई १५ मा श्रीलंका प्रस्थान गरेका प्रचण्डले त्यहाँ रहँदा इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा मुख्य वक्ताका रूपमा सहभागिता जनाएका थिए। त्यहाँ उनले विश्वव्यापी शक्ति सन्तुलन, साम्राज्यवाद तथा नवउदारवादका चुनौती र २१औँ शताब्दीको समाजवादको रूपरेखाबारे आफ्नो धारणा राखेका थिए। 

एसियाली क्षेत्रमा शान्ति, सामाजिक न्याय र प्रगतिशील शक्तिहरूबीचको सहकार्यमा उनले जोड दिए। त्यस्तै ‘ग्लोबल साउथ एकेडेमिक फोरम’लाई अन्तर्वार्ता दिँदै प्रचण्डले नेपालको शान्ति प्रक्रिया, जनयुद्धदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको राजनीतिक यात्रा र समकालीन विश्व राजनीतिबारे चर्चा गरेका थिए।

प्रचण्डले श्रीलंकामा रहँदा त्यहाँका प्रमुख वामपन्थी दलहरूसँग द्विपक्षीय भेटवार्ता समेत गरे। उनले श्रीलंकाको कम्युनिस्ट पार्टीका महासचिव तथा पोलिटब्युरो सदस्यहरूसँग दुई देशका कम्युनिस्ट आन्दोलनका अनुभव, आर्थिक रूपान्तरण र लोकतान्त्रिक अभ्यासका विषयमा छलफल गरेका थिए।

त्यसैगरी, श्रीलंकाको सत्तारुढ दल ‘जनता विमुक्ति पेरामुना’ (जेभीपी) का महासचिव तिल्भिन सिल्भा र पार्टीका अन्य नेताहरूसँग भएको भेटमा सुशासन, आर्थिक विकास र दक्षिण एसियामा वामपन्थी सहकार्यका विषयमा विचार आदानप्रदान भएको थियो। दुवै देशका प्रगतिशील शक्तिबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समझदारी भएको जनाइएको छ।

प्रचण्डले सम्मेलनमा सहभागी विभिन्न देशका राजनीतिक नेता, सामाजिक अभियन्ता र अनुसन्धानकर्ताहरूसँग पनि भेटघाट गरेका थिए। यस भ्रमणबाट नेपालको कम्युनिस्ट आन्दोलनको अनुभव अन्तर्राष्ट्रियस्तरमा पुर्याउन र दक्षिण एसियाली वामपन्थी शक्तिहरूसँगको सम्बन्ध विस्तारमा सहयोग पुगेको पार्टीले जनाएको छ। 

साउन ३, २०८३ आइतबार १४:१७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।