अपवित्र साँठगाँठमा नलाग्न झलनाथ खनालको चेतावनी, केन्द्रीय संयोजन समितिको बैठक बोलाउन माग
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई कुनै पनि प्रकारको अपवित्र साँठगाँठमा नलाग्न सचेत गराउँदै तत्काल केन्द्रीय संयोजन समितिको बैठक बोलाउन माग गरेका छन्।
आइतबार एक प्रेस वक्तव्य जारी गरेर उनले नयाँ राजनीतिक समीकरण बनाउनुभन्दा पहिले पार्टीमा विस्तृत छलफल गर्न माग गरे। प्रदेशहरूमा एमाले कांग्रेसको सहकार्यमा दरार आएपछि नयाँ राजनीतिक समीकरण गरेर सरकारहरू गठन गर्ने विषयमा दलहरुबीच यतिबेला छलफल चलिरहेको छ।
“यो जटिल अवस्थामा नेपाली कम्युनिष्ट पार्टीले कुनै पनि नयाँ राजनीतिक समीकरण बारे सोच्नुभन्दा अगाडि कम्तीमा केन्द्रीय संयोजन समितिको बैठक बोलाईयोस्, आजको आवश्यकताका बारेमा कमिटीमा विस्तृत रूपले छलफल गरियोस्,” खनालले भनेका छन्, “क्रान्तिकारी उद्देश्य र वर्ग दृष्टिकोणलाई सर्वोपरि राखेर मात्र प्रदेश सभामा सरकार बनाउने सम्बन्धमा नीति निर्णय गरियोस् र पार्टीलाई दक्षिणपन्थी वर्ग सम्झौतावादको दलदलतिर जानबाट संस्थागत रूपले बचाइयोस्।”
पार्टीले विगतमा गरेका गल्तीहरू नदोहोऱ्याउन नेतृत्वलाई आग्रह गर्दै खनालले अहिलेको समय सत्ता समीकरणको मात्र नभई सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्ने बेला भएको उल्लेख गरे।
वामपन्थी शक्तिहरूबीचको एकतामा जोड दिँदै उनले भने, “वामपन्थीहरूले आफूबीचका आग्रह, पूर्वाग्रह, दम्भ र घमण्ड त्यागेर वामपन्थी एकताको पहल गरेको हेर्न चाहन्छन्। तर नेपालका वामपन्थीहरू विगतमा नीतिहीन, वर्ग दृष्टिकोणहीन र नीतिहीन गुट स्वार्थका आधारमा दक्षिणपन्थी शक्तिहरूसँग एकता गर्न आनन्द महसुस गर्दै आएका छन्।”

साउन ३, २०८३ आइतबार १२:५९:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।