नारायणगढ-मुग्लिङ सडकको जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा अवरुद्ध सडक खुल्यो

नारायणगढ-मुग्लिङ सडकको जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा अवरुद्ध सडक खुल्यो

काठमाडौं : मुग्लिङ-नारायणगढ सडकखण्डको जलबिरेमा आइतबार बिहान तीन सवारीसाधन एकापसमा ठोक्किँदा अवरुद्ध सडक पुनः दुवैतर्फी सञ्चालनमा आएको छ। 

दुर्घटनाग्रस्त दुई बस र एक ट्रकलाई सडकबाट पन्छाएपछि अहिले यातायात सुचारु भएको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा ३० जना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर छ।

चितवनको इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिक बिहान करिब ७:१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३-००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३-००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३-००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किएका थिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये २१ जनाको चितवन मेडिकल कलेज र नौ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रशासन कार्यालयले हिजो बेलुकी १० बजेदेखि उक्त सडक खण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। आइतबार बिहानैदेखि रोक हटाई सडक सुचारु गरिए पनि खुलेको केही समयमै दुर्घटना भएपछि सडक पुन अवरुद्ध भएको थियो।

साउन ३, २०८३ आइतबार १०:४८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।