पहिरो हटेपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

पहिरो हटेपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

रामेछाप : अविरल वर्षा र सुख्खा पहिरोका कारण अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। 

काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडामा सडकमाथिबाट बगेर आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा खसेको पहिरो पन्छाएपछि राजमार्गमा यातायात सुचारु भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार राति परेको भारी वर्षाका कारण सडकमा लेदो र पहिरो थुप्रिँदा राजमार्ग पूर्ण रूपमा ठप्प भएको थियो। सडक विभाग र सुरक्षा निकायको टोलीले सडकमा जम्मा भएको अवरोध हटाएपछि गाडी चल्न थालेका हुन् ।

राजमार्ग खुलेसँगै दुवैतर्फ रोकिएका सवारीसाधनहरू पुनः सञ्चालनमा आएका हुन्। सडक अवरुद्ध हुँदा पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेका सवारीसाधन सिन्धुलीको खुर्कोटमा रोकिएका थिए भने काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेका सवारीसाधन काभ्रेको भकुण्डे क्षेत्रमा रोकिएका थिए।

प्रहरीले वर्षायामका कारण सडक अझै जोखिमपूर्ण अवस्थामा रहेकाले आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न सबै चालक तथा यात्रुलाई आग्रह गरेको छ।

साउन ३, २०८३ आइतबार १०:४६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।