कोशीमा बाढीको जोखिम बढेसँगै ब्यारेजका ढोका क्रमशः खोल्ने तयारी

कोशीमा बाढीको जोखिम बढेसँगै ब्यारेजका ढोका क्रमशः खोल्ने तयारी

काठमाडौं : देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षा भई नदीमा जलस्तर बढेमा आइतबार कोशी ब्यारेजका ढोकाहरू क्रमशः खोल्ने तयारी गरिएको छ।

बाढी, पहिरो र डुबानको उच्च जोखिमलाई मध्यनजर गरेर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्व तयारीलाई तीव्र बनाएको हो।

जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम रहेकोले सचेत रहन आग्रह गरेको छ।

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले नदीमा पानीको बहाव बढेर बाढी जोखिमको अवस्था आएमा आइतबार कोशी ब्यारेजका ढोका क्रमशः खोलिने बताए।

 

जल तथा मौसम विज्ञान विभागका बाढीविद् बिनोद पराजुलीले जलप्रवाहको निरन्तर निगरानी भएको र २१ जिल्लामा बाढीको मध्यम जोखिम रहेको जानकारी दिए।

प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा प्रतिकार्यका लागि आवश्यक तयारी थालको छ। प्राधिकरणले स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन तथा नदी किनार र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

साथै, सर्वसाधारणलाई यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवागमन नगर्न प्राधिकरणको अनुरोध छ।

साउन ३, २०८३ आइतबार ०७:२५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।