सांसद ओलीमाथि साइबर दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीलाई सामाजिक सञ्जालमार्फत धम्की दिने तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चितवनबाट दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१६ का तेजेन्द्रप्रसाद पौडेल र बुटवल घर भई हाल नारायणगढमा व्यवसाय गर्ने अभि घिमिरे रहेका छन्। पक्राउ परेकामध्ये पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता हुन्।
ओलीले आफूमाथि सामाजिक सञ्जाल फेसबुकमार्फत निरन्तर गालीगलौज, धम्की तथा घृणास्पद अभिव्यक्ति फैलाएको भनेर साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा ब्युरोले आरोपीहरूको पहिचान गरी पक्राउका लागि जिल्ला प्रहरी कार्यालय चितवनलाई पत्राचार गरेको थियो।
पक्राउ परेकाहरूमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। उनीहरूलाई सोमबार अदालतमा उपस्थित गराई म्याद थप गरेर मुद्दाको प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
ओलीले असहमति र आलोचना लोकतान्त्रिक समाजको स्वाभाविक पक्ष भए पनि कसैको व्यक्तिगत चरित्रहत्या र धम्की दिने कार्य कानुनी रूपमा दण्डनीय हुने बताएकी छन्।
साउन २, २०८३ शनिबार २२:२३:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।