आफ्नो बोलीको घनचक्करमा फसेका रवि
काठमाडौ : सत्ताका लागि सम्भव, असम्भव सबै वाचा गर्दै आएका पात्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिजोका आफ्नै बोली घनचक्कर बनेर घुमाइरहेका छन्।
सरकारको नेतृत्व गर्ने जनमतका लागि उनले केवल सय दिन तोक्दै अनेक वाचा गरेका थिए। आफ्नो दलको नेतृत्वमा सरकार बने सय दिनमै अवस्था कायापलट गराउने झैँ वाचा गरे। २०८२ फागुन २१ को निर्वाचनमा आफ्नै दलको आन्तरिक कारण बाहेक ढल्नै नसक्ने जनमतसहित सरकार पनि बन्यो।
तर सय दिनमा अवस्था बदल्नुको साटो उल्टो बढो सकसले आएको व्यवस्थामाथि संकट बढ्दै गयो।
उनले आफ्नो दलको नेतृत्वमा सरकार बने नेपालीलाई रोजगारीका लागि विदेश जानुपर्ने समस्याको समाधान गर्दै सय दिनमा सय जना नेपालीलाई विदेशबाट नेपाल ल्याएर रोजगार दिने घोषणा गरेका थिए। त्यसका लागि नेपालीहरू रहेका देशको गल्ली गल्लीमा विज्ञापन टाँस्नेसम्मको हाँस्यास्पद दाबीसम्म गरे।
रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेर सय दिन पनि कटिसक्यो। तर वाचाअनुसार रोजगारका लागि विदेशिएका नेपालीलाई स्वदेश फर्काउने र सय नेपालीलाई रोजगारी दिने दुवै काम भएन।
फागुन २१ कै निर्वाचनको प्रचारमा आफ्नो दलले सरकार बनाउन सके सय दिनमै सरकार कसरी चलाउनु पर्छ भनेर देखाउने दाबी गरेका थिए रविले।
प्रधानमन्त्रीबाट निरन्तर संसद्को अवज्ञा, संवैधानिक निकायका प्रमुखसहितलाई कार्यालयमा बोलाएर सेनाको ब्यारेकमा लगेर थुन्ने धम्कीसहित भ्रष्टाचार मुद्दा दायर गर्न दबाब लगायतका गतिविधिले सरकार कसरी चलाउने नभई सरकार कसरी नचलाउने भन्ने उदाहरणहरू बने।
निर्वाचन अगाडि सुकुमबासी बस्तीमा कसैले डोजर चलाउन खोजे पहिला आफूले छाती थाप्ने दाबी गरेका थिए रविले। तर आफ्नै दलका प्रधानमन्त्रीले विकल्प नदिई सुकुमबासीलाई बस्तीबाट लखेट्दा उनी छाती थाप्न हैन छाती लुकाएर बसे।
सुशासन, विधि र प्रक्रियाबारे ठूला-ठूला दाबी गर्ने उनकै पार्टीको नेतृत्वको सरकार विधिभन्दा 'लिदी'बाट सत्ता चलाउन व्यस्त छन्। जेनजी आन्दोलनको बलमा बनेको सरकारबारे जेनजी अगुवाहरू नै पहिला शासनमा भ्रष्टहरू थिए, आज टोले गुन्डाहरू छन् भनेर सार्वजनिक आलोचना गरिरहेका छन्।
यो बिचमा लामिछानेको अनुहार अलि मलिन भएको छ। स्वरको टोन हाईबाट लो पिचमा झरेको छ। ठूला-ठूला वाचा हराइरहेका छन्। तर उनका विगतका त्यही वाचाहरू भने हराएका छैनन्। सामाजिक सञ्जालमा मिम भनेर घुमिरहेका छन्।
कतै छाती थाप्ने वाचाको भिडियोसँगै अलपत्र पारिएर भक्कानिएका सुकुमबासीका भिडियो घुमिरहेका छन्। कतै विदेशमा रहेका नेपाली गल्ली गल्लीमा नेपालमा जागिर खुलेको पर्चा खोजिरहेको भिडियो घुमिरहेका छन्। सय दिनमा देखिएको उपलब्धिमा हिजो 'सहकारी ठग ग्गाङ' भनेर सञ्जालमा देखिने ब्यंग्य अहिले 'खराने ग्याङ' मा बदलिएको छ।
साउन २, २०८३ शनिबार २०:३१:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।