नेपालमा बालकमाथि यौन दुराचार गर्ने अमेरिकी नागरिक कोम्ब्सद्वारा अमेरिकाको अदालतमा पनि अपराध स्वीकार, नेपालमा भएको थियो नौ वर्ष जेल

नेपालमा बालकमाथि यौन दुराचार गर्ने अमेरिकी नागरिक कोम्ब्सद्वारा अमेरिकाको अदालतमा पनि अपराध स्वीकार, नेपालमा भएको थियो नौ वर्ष जेल

काठमाडौं : नेपालमा बालबालिकामाथि गम्भीर यौन दुर्व्यवहार (बाल यौन दुराचार) गरी ९ वर्ष जेल सजाय काटेर फर्केका एक अमेरिकी नागरिकले संयुक्त राज्य अमेरिकाको संघीय अदालतमा पनि आफ्नो अपराध स्वीकार गरेका छन्।

इलिनोइसको कोलिन्सभिलका ५८ वर्षीय केनेथ जोसेफ कोम्ब्सले नेपालमा नाबालिगहरूसँग गैरकानूनी यौन दुर्व्यवहारमा संलग्न भएको कुरा अमेरिकी अदालतमा स्वीकार गरेका हुन्। 

अमेरिकी कानुनअनुसार आफ्ना नागरिकले विदेशमा गएर बालबालिकाविरुद्ध यौन अपराध गरेमा स्वदेशमा समेत मुद्दा चल्ने प्रावधानअन्तर्गत उनीमाथि अमेरिकामा थप कारबाही अघि बढाइएको हो।

स्वयम्भूका बुद्ध पुतवारले गराउँथे बालक उपलब्ध
विनाशकारी भूकम्पपछिको संवेदनशील परिस्थितिको फाइदा उठाउँदै कोम्ब्स २०७३ साउन/भदौ (सन् २०१६ अगस्ट) तिर नेपाल आएका थिए। उनलाई विभिन्न जिल्लाबाट यौन शोषणका लागि बालकहरू उपलब्ध गराउने कार्यमा स्वयम्भूका बुद्ध पुतवार सहयोगीका रूपमा संलग्न थिए। 

पुतवारले अन्य विदेशीहरूलाई समेत नेपाल बोलाएर यौन सम्बन्धका लागि बालक उपलब्ध गराउने गरेको अनुसन्धानबाट खुलेको थियो।

गरिब तथा ग्रामीण भेगका १२ देखि १६ वर्ष उमेर समूहका बालबालिकाहरूलाई राम्रो जागिर, कपडा र खानाको प्रलोभन देखाएर ठमेलका होटलमा ल्याउने गरिएको थियो। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०७३ भदौ २४ गते ठमेलस्थित एक होटलको कोठामा छापा मारी कोम्ब्स र उनका सहयोगी पुतवार दुवैलाई सोही समय पक्राउ गरेको थियो।

त्यस समय होटलबाट ४ जना बालकको उद्धार गरिएको थियो। तर, विस्तृत अनुसन्धानका क्रममा कोम्ब्सबाट कुल १० जना बालकहरू पीडित भएको खुलेको थियो। अनुसन्धानकै क्रममा अमेरिकामा समेत कोम्ब्सविरुद्ध यसअघि नै बाल यौन दुराचारको रेकर्ड भेटिएको थियो।

प्रहरीले केनेथ र पुतवार दुवैमाथि मानव बेचबिखन तथा ओसारपसारका साथै बाल यौन दुराचारको मुद्दा चलाएको थियो।

उक्त मुद्दामा सुनुवाइ गर्दै २०७४ वैशाखमा काठमाडौँ जिल्ला अदालतले फैसला सुनाएको थियो। अदालतले अमेरिकी नागरिक कोम्ब्सलाई ९ वर्ष कैद र दुई जना पीडित बालकलाई जनही ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो। 

यस्तै, उनका नेपाली सहयोगी बुद्ध पुतवारलाई ४ वर्ष कैद सजाय सुनाइएको थियो। कोम्ब्सले नेपालको कारागारमा आफ्नो पूरा सजाय भुक्तान गरेका थिए।

नेपालबाट निष्कासन लगत्तै अमेरिकामा पक्राउ
अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसका अनुसार नेपालमा जेल सजाय पूरा गरेपछि अध्यागमन विभागले कोम्ब्सलाई २०८२ भदौमा नेपालबाट निष्कासन गरी अमेरिका फिर्ता पठाएको थियो। तर, अमेरिकाको ओ'हेर अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बित्तिकै उनलाई अमेरिकी संघीय निकाय र भन्सार सुरक्षा बलले नियन्त्रणमा लिएको थियो।

अमेरिकी सुरक्षा निकायले उनको इलेक्ट्रोनिक उपकरणहरूबाट नेपालमा खिचिएका बाल यौन शोषणका तस्बिरहरू समेत बरामद गरेको थियो। नेपालमा बालबालिकाहरूलाई बल प्रयोग गर्ने, इच्छा विपरीत नशालु पदार्थ खुवाउने र पैसाको प्रलोभन देखाएर जबरजस्ती यौन दुर्व्यवहार गरेको अभियोगमा उनी अमेरिकामा पक्राउ परेदेखि नै निरन्तर हिरासतमा छन्।

आगामी कात्तिकमा सजाय सुनाइने
यो मुद्दा अमेरिकी न्याय मन्त्रालयले बाल यौन शोषण र दुर्व्यवहारको महामारीविरुद्ध लड्न सुरु गरेको राष्ट्रव्यापी अभियान 'प्रोजेक्ट सेफ चाइल्डहुड' अन्तर्गत चलाइएको हो।

यस अन्तर्राष्ट्रिय अनुसन्धान र कानुनी कारबाहीमा नेपाल र अमेरिकाका विभिन्न निकायहरूबीच बलियो समन्वय देखिएको छ। अमेरिकी निकाय एफबीआई स्प्रिंगफिल्डले गरेको अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, नेपालस्थित अमेरिकी दूतावास, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय र नेपाली गैरसरकारी संस्था 'नयाँ पाइला' ले मुख्य प्रमाण तथा रेकर्डहरू उपलब्ध गराएर महत्त्वपूर्ण सहयोग गरेका थिए।

अमेरिकी अदालतमा शुक्रवार आफ्नो अपराध स्वीकार गरिसकेका कोम्ब्सलाई आगामी २०८३ कात्तिक १२ गते (सन् २०२६ अक्टोबर २८) सजाय सुनाउने तय भएको छ।

साउन २, २०८३ शनिबार १९:४६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।