गृहमन्त्री भेट्न खोज्दा सिंहदरबार गेटमै घिसारिइन् बिनु र निहारिका
काठमाडौं : आफ्ना समस्या राख्न भनेर गृहमन्त्री सुधन गुरुङलाई भेट्न खोज्ने निहारिका राजपुत र बिनु यादवलाई प्रहरीले सिंहदरबार गेटमा लछारपछार गरेको छ।
शनिबार दिउँसो सिंहदरबारको दक्षिण गेटमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिन्ह घण्टी बजाएर विरोध गरिरहेका उनीहरूलाई प्रहरीले लछारपछार गर्दै हटायो।
पछिल्लो पाँच दिनदेखि गृहमन्त्री गुरुङलाई भेटेर आफ्ना समस्या राख्न पाउनुपर्ने भनेर उनीहरू सिंहदरबारको गेटमा धर्ना दिन पुग्ने गरेका छन्।
सञ्चारकर्मीहरूसँग उनीहरूले विगतमा आफ्ना मुद्दामा साथ दिएका रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह अहिले सत्ता र शक्तिमा पुगेपछि मौन रहेको आरोप लगाइन्।
प्रदर्शनका क्रममा प्रहरीले सडकमा सुतेर विरोध गरिरहेकी बिनुलाई हात र खुट्टामा समातेर घिसार्दै लगेको र निहारिकालाई समातेर जबरजस्ती लगिएको भिडियोमा देखिन्छ।
धर्नाका क्रममा प्रहरीले लछारपछार गर्दा आफ्ना लुगा च्यातिएको र शारीरिक चोटसमेत लागेको उनीहरूको दाबी छ। निहारिकाले आफ्नो बलात्कारपछि जन्मिएको बच्चाको डिएनए परीक्षण, मिलापत्र स्वरूप भएको विवाह र त्यसपछि भोग्नुपरेको घरेलु हिंसाका सरकार समक्ष आफ्ना कुरा राख्ने नपाएको गुनासो गरिन्।
सिंहदरबार प्रवेशको पास हुँदाहुँदै पनि प्रहरीले भित्र जान नदिएको उनीहरूको भनाइ थियो। आफ्ना मागबारे उचित सम्बोधन र अनुसन्धान प्रक्रिया अघि नबढेसम्म आन्दोलन जारी राख्ने उनीहरूको चेतावनी छ।
साउन २, २०८३ शनिबार १९:०३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।