देशभर झण्डै ७० प्रतिशत धान रोपाइँ सम्पन्न
काठमाडौं : यस वर्षको साउन १ गतेसम्म नेपालभर कुल धान खेती हुने क्षेत्रफलको ६९.७७ प्रतिशत भागमा धान रोपाइँ सम्पन्न भएको छ।
कृषि विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार देशको कुल १३ लाख ७३ हजार ८ सय ६२ हेक्टर धान खेती योग्य जमिनमध्ये हालसम्म ९ लाख ५८ हजार ५ सय ७४ हेक्टरमा रोपाइँ सकिएको हो।
यद्यपि, गत वर्षको तुलनामा यस वर्ष रोपाइँको गति केही सुस्त देखिएको छ। गत वर्षको साउन ४ गतेसम्म देशभर ७२.१४ प्रतिशत क्षेत्रफलमा धान रोपिएको थियो, जुन यस वर्षको तुलनामा करिब २.३७ प्रतिशतले बढी हो।
प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा उत्साहजनक रूपमा रोपाइँ भइरहेको देखिएको छ, जहाँ कुल क्षेत्रफलको ९०.६७ प्रतिशतमा धान रोपाइँ सम्पन्न भइसकेको छ। लुम्बिनी प्रदेशमा पनि ८०.६५ प्रतिशत रोपाइँ सकिएको छ भने गण्डकी, बाग्मती र कर्णाली प्रदेशमा क्रमशः ७८.३६ प्रतिशत, ७७.३३ प्रतिशत र ७७.०५ प्रतिशत रोपाइँ भएको छ। यी प्रदेशहरूमा औसतभन्दा माथि रोपाइँ भएको देखिन्छ।
यसको विपरीत, तराईका मुख्य धान उत्पादन हुने क्षेत्र मानिने मधेश र कोशी प्रदेशमा भने रोपाइँको गति तुलनात्मक रूपमा न्यून देखिएको छ। देशभरमै सबैभन्दा धेरै ३ लाख ८२ हजार ४ सय ३३ हेक्टर धान खेती हुने क्षेत्रफल रहेको मधेश प्रदेशमा हालसम्म ५७.९३ प्रतिशत मात्र रोपाइँ भएको छ।
त्यस्तै, कोशी प्रदेशमा ५४.८६ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ, जुन सबै प्रदेशहरूमध्ये सबैभन्दा कम हो। असार मसान्तसम्मको तथ्याङ्क अनुसार मनसुनको प्रभाव र सिँचाइको उपलब्धताका आधारमा विभिन्न प्रदेशहरूमा रोपाइँको दर फरक–फरक देखिएको विभागले जनाएको छ।
साउन २, २०८३ शनिबार १६:०२:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।