सरकारको बचाउमा रविले भने : 'नियतमा कुनै शंका छैन'

सरकारको बचाउमा रविले भने : 'नियतमा कुनै शंका छैन'
फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको नियत गलत नभएको जिकिर गर्दै शंका नगर्न आग्रह गरेका छन्।

शनिबार पार्टीका रौतहटका नेता तथा कार्यकर्तासँग उनले सरकारले गरेका निर्णयहरूले ठूलो क्षति पुऱ्याउने देखिएमा त्यसलाई तत्कालै परिवर्तन गरिने बताए। लामिछानेले सरकारले असल उद्देश्यका साथ निर्णय गरे पनि व्यवहारमा जाँदा कहिलेकाहीँ नतिजा उल्टो आउन सक्ने स्वीकार गरे। 

उनले भने, "सरकारको नियतमा कुनै पनि शंका छैन। निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसलाई करेक्सन गर्न सकिन्छ। नियत खराब भयो भने कहाँ करेक्सन गर्ने? नियत करेक्सन गर्न गाह्रो हुन्छ।"

निर्णयहरू गर्दा केही निर्णयले ड्यामेज ल्याउन सक्ने सम्भावना रहने औँल्याउँदै लामिछानेले किसान र मजदुर वर्गको हितलाई प्राथमिकता दिने बताए। 

"जसका लागि लाभ होस् भनेर सरकारले निर्णयहरू गरेको छ, त्यो निर्णयले लाभ होइन हानि भएछ भने त्यसका निर्णयहरू परिवर्तन हुन्छन्। त्यसमा चिन्ता गर्न पर्दैन," उनले भने, "त्यसले धेरै ठुलो ड्यामेज गर्यो भने त्यसलाई रातारात परिवर्तन पनि गर्नुपर्छ।"

कतिपय अवस्थामा नेतृत्वले लिएको भिजन बुझ्न समय लाग्ने र सुरुमा विवादित देखिएका विषयहरू कालान्तरमा सही प्रमाणित हुने लामिछानेको तर्क थियो। उनले कार्यकर्ताहरूलाई पार्टी र सरकारका कामप्रति सजग रहन र खबरदारी गर्न समेत आग्रह गरे।

लामिछानेले भने, "आफ्नो हुँदाहुँदै आफ्नो पार्टीले गलत बाटोमा गयो भने खबरदार भन्ने जिम्मा तपाईंको। ताली बजाउने मात्र होइन, औँला उठाएर खबरदार गर्ने जिम्मेवारी पनि आजबाट तपाईंको काममा आएको छ।"

नागरिकका समस्या समाधानको लागि सांसदहरूमार्फत सम्बन्धित मन्त्रालय र मन्त्रीहरूको ध्यानाकर्षण गराउन उनले आग्रह गरे। यदि मन्त्रालयबाट गुनासोको सुनुवाइ नभएमा पार्टीले अभिभावकीय भूमिका निर्वाह गर्ने आश्वासन दिँदै उनले आवश्यक कदम चालिने बताए।

लामिछाने भने, "मन्त्रीज्यूहरूबाट या मन्त्रालयबाट भएन भने पार्टी छ। पार्टीले आफ्नो अभिभावकत्व लिनबाट कहिल्यै पछि हट्दैन चिन्ता नगर्नुहोला। पार्टी अभिभावक हो, पार्टीले हेर्छ।"

साउन २, २०८३ शनिबार १५:४५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।