क्यानडाको डढेलोले अमेरिकामा वायु प्रदूषण, ट्रम्पद्वारा नयाँ भन्सार शुल्क लगाउने चेतावनी
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामा फैलिएका भीषण डढेलोबाट निस्किएको धुवाँ अमेरिकाका उत्तरी शहरहरूमा फैलिएको भन्दै क्यानडामाथि नयाँ भन्सार लगाउने चेतावनी दिएका छन्।
ट्रम्पले सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा लेख्दै क्यानडाको लापरबाहीका कारण अमेरिकी आकाश दूषित भएको आरोप लगाएका छन्।
उनले भनेका छन्, "संयुक्त राज्य अमेरिकामाथि फोहोर, प्रदूषित र अस्वस्थकर हावाद्वारा अनावश्यक रूपमा आक्रमण भइरहेको छ।"
ट्रम्पले धुवाँका कारण अमेरिकी नागरिकले प्रदूषित हावा सास फेर्न बाध्य भएको भन्दै क्यानडाका प्रधानमन्त्री मार्क कार्नी सँग यस विषयमा स्पष्टीकरण माग्ने पनि बताएका छन्। अमेरिकी सांसदहरूले पनि क्यानडाले वन व्यवस्थापन र डढेलो नियन्त्रणमा पर्याप्त लगानी नगरेको भन्दै आक्रोश पोखेका छन्।
यसैबीच, अमेरिकी आरोपहरूको खण्डन गर्दै क्यानडाको ओन्टारियो प्रान्तका प्रिमियर डग फोर्डले अमेरिकालाई गुनासो गर्नुको साटो सहयोग पठाउन आग्रह गरेका छन्। उनले विगतमा क्यानडाले पनि क्यालिफोर्नियाका डढेलो र नर्थ क्यारोलिनाको आँधीका बेला अमेरिकालाई सहयोग गरेको स्मरण गराउँदै अहिले पनि अमेरिकी सहयोग आवश्यक रहेको बताएका छन्।
उनले भने, "हाम्रा अमेरिकी साथीहरूका लागि हामीले सधैं सहयोग गरेका छौँ, त्यसैले अहिले गुनासो गर्नुभन्दा मद्दत पठाउनु राम्रो हुन्छ।"
त्यस्तै, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले जलवायु परिवर्तन अमेरिका सहित सम्पूर्ण विश्वकै साझा जिम्मेवारी भएको प्रष्ट पारेका छन्। क्यानडाली अधिकारीहरूका अनुसार सरकारले वन संरक्षण र डढेलो नियन्त्रणका लागि १२ अर्ब क्यानडाली डलर लगानी गरिसकेको छ।
उता वैज्ञानिकहरूले भने डढेलो र धुवाँको समस्या कुनै एक देशको कमजोरी मात्र नभई जलवायु परिवर्तन, लामो समयको गर्मी, कम वर्षा र चट्याङ जस्ता प्राकृतिक कारणले झन् जटिल बनेको बताएका छन्। उनीहरूका अनुसार धुवाँ हावाको बहावसँगै सीमा नहेरी फैलिने भएकाले यसलाई केवल क्यानडाको लापरवाहीका रूपमा व्याख्या गर्न नमिल्ने बताएका छन्।
क्यानडियन वाइल्डल्याण्ड फायर इन्फर्मेशन सिस्टमका अनुसार हाल क्यानडाभरि करिब ८८८ ठाउँमा डढेलो लागिरहेको छ, जसमध्ये अधिकांश अझै नियन्त्रण बाहिर छन्। डढेलोका कारण करिब ३० लाख हेक्टर जमिन नष्ट भइसकेको छ भने उत्तरी ओन्टारियोका १० भन्दा बढी आदिवासी समुदायहरू विस्थापित भएका छन्। कतिपय गाउँहरू जलेर खरानी भएका छन्।
डढेलोको बाक्लो धुवाँका कारण अमेरिकाका डेट्रोइट, सिकागो, वासिङ्टन डीसी र न्युयोर्क लगायतका सहरहरूमा वायुको गुणस्तर विश्वकै सबैभन्दा खराब अवस्थामा पुगेको छ। अधिकारीहरूले नागरिकहरूलाई घरभित्रै बस्न र मास्क प्रयोग गर्न आग्रह गरेका छन्।
प्रदूषणका कारण विभिन्न बाहिरी खेलकुद, कन्सर्ट र उडानहरू अवरुद्ध भएका छन्। यहाँसम्म कि न्युजर्सीमा हुन लागेको अर्जेन्टिना र स्पेनबीचको विश्वकप फुटबल फाइनल खेलसमेत यस धुवाँका कारण प्रभावित हुन सक्ने भन्दै अधिकारीहरूले मौसमको निगरानी गरिरहेका छन्।
साउन २, २०८३ शनिबार १५:३३:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।