अमेरिका र इजरायलले फेरि आक्रमण गरे खाडीका ७ देशका तेल खानी र एआई केन्द्रमा हमला गर्ने इरानको चेतावनी

अमेरिका र इजरायलले फेरि आक्रमण गरे खाडीका ७ देशका तेल खानी र  एआई केन्द्रमा हमला गर्ने इरानको चेतावनी

एजेन्सी : अमेरिका र इजरायलले पुनः आक्रमण गरेमा खाडी क्षेत्रका कम्तीमा सात वटा देशमा रहेका तेल खानी, समुद्रमुनिका सञ्चार केबल, डेटा सेन्टर र एआई पूर्वाधारहरूमा हमला गर्ने इरानले चेतावनी दिएको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले सम्भावित युद्धको अवस्थामा इरानले आफ्नो प्रतिकारको दायरा विस्तार गर्ने बताएको द गार्डियनले लेखेको छ। गार्डियनका अनुसार रेजाईले इरानको आर्थिक जीवनरेखामाथि आक्रमण भए त्यसलाई सघाउने क्षेत्रीय आर्थिक पूर्वाधारहरू पनि सुरक्षित नरहने चेतावनी दिएका छन्।

उनले भनेका छन्, "यदि फेरि युद्ध भड्कियो भने हाम्रा रणनीतिहरू अझ व्यापक हुनेछन्। इरानको आर्थिक जीवनरेखामा हमला हुने तर आक्रमणलाई सघाउने आर्थिक संरचनाहरू भने सुरक्षित रहने खालको कुनै सम्झौता हुन सक्दैन।"

इरानका वरिष्ठ वार्ताकार मेहदी मोहमदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच सम्भावित आक्रमणबारे सैद्धान्तिक सहमति बनेको दाबी गरे। मोहमदीले भने, "हाम्रा लागि यो सम्भावित सङ्कट अस्तित्वको प्रश्न हो। त्यसैले हाम्रो रणनीति 'जिरो रेड लाईन' (कुनै सीमा नरहने) हुनेछ। यो युद्ध शत्रुले सोचेभन्दा लामो र फराकिलो क्षेत्रमा फैलिनेछ।"

अमेरिकी सञ्चारमाध्यमका अनुसार अमेरिकाले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनलगत्तै इरानका क्षेप्यास्त्र केन्द्र, तेल भण्डार र आणविक संरचनामा संयुक्त आक्रमण गर्ने तयारी गरिरहेको छ। 

यसैबीच, इरान र अमेरिकाबिच चर्किएको तनावलाई मध्यनजर गर्दै युरोपेली देशहरू, टर्की, साउदी अरेबिया, पाकिस्तान र इजिप्टका विदेशमन्त्रीहरू शुक्रबार इस्तानबुलमा आपत्कालीन बैठक बस्दै छन्।

हर्मुज स्ट्रेटमा इरानको रिभोलुसनरी गार्ड्स  (आईआरजीसी) ले व्यापारिक जहाजहरूमा आक्रमण गरेको दाबी गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल ११३.४ डलर पुगेको छ। आईआरजीसीले उक्त मार्गमा बिछ्याइएका बारुदी सुरुङमा परी थप तीनवटा जहाज प्रभावित भएको दाबीसमेत गरेको छ। 

अन्तर्राष्ट्रिय कानुनविद् तथा पूर्व कूटनीतिज्ञ रेजा नासरीका अनुसार अब युद्ध भड्किएमा त्यसले उग्र रूप लिनेछ। त्यसबाट क्षेत्रका पावर ग्रिड, खानेपानी प्रशोधन केन्द्र र बन्दरगाहहरू ध्वस्त भई करोडौँ मानिस पानी र बिजुलीविहीन हुनेछन् भने युरोपतर्फ ठूलो सङ्ख्यामा शरणार्थीको ओइरो लाग्ने र विश्वव्यापी आर्थिक मन्दी छाउने चेतावनी उनले दिएका छन्।

कात्तिक ६, २०८३ शुक्रबार १५:१७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।