चीनमा ७ म्याग्निच्युडको भूकम्प : १६ जनाको मृत्यु, ३३९ वटा घर भत्किए
एजेन्सी : चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ५४ जना घाइते भएका छन्।
चीनको भूकम्प सञ्जाल केन्द्रका अनुसार बिहीबार राति १०:३३ बजे नाग्छु सहरको बाकेन काउन्टीलाई केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराइमा गएको थियो।
भूकम्प प्रभावित गाउँमा शुक्रबार बिहानै अग्नि नियन्त्रण तथा उद्धार टोलीहरू पुगेका छन्। भूकम्पको केन्द्रबिन्दु नजिकै र सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक मानिने गाङ्छे नगरमा ११० जना अग्नि नियन्त्रक, २५ वटा सवारीसाधन र खोज तथा उद्धारका लागि तालिमप्राप्त चारवटा कुकुरसहितको टोली पुगेको छ।
उक्त टोलीले भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी गर्नुका साथै घरहरूमा भएको क्षतिको आकलन गरिरहेको छ। उद्धार कार्य जारी रहँदा थप उद्धार टोलीहरू पनि विपद् प्रभावित क्षेत्रमा पुग्ने क्रममा रहेका छन्।
सिजाङको आपत्कालीन कमान्डका अनुसार शुक्रबार बिहानसम्म ३३९ वटा घरहरू पूर्ण रूपमा भत्किएका छन्। भूकम्पलगत्तै चीनको भूकम्प प्रशासनले दोस्रो तहको आपत्कालीन प्रतिकार्य सुरु गरेको छ।
कात्तिक ६, २०८३ शुक्रबार १४:०१:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।