HIGH ALERT !!! : शनिबार र आइतबार देशभर ‘अति भारी’ वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन विभागको आग्रह
काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार देशका अधिकांश भागमा भारीदेखि ‘अति भारी’ वर्षाको सम्भावना रहेको भन्दै विशेष मौसम बुलेटिन जारी गरेको छ।
बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणाली उत्तर-पश्चिम दिशातिर सर्ने क्रममा रहेकाले नेपालमा मनसुन थप सक्रिय हुने देखिएको हो।
विभागका अनुसार साउन २ गते शनिबार र ३ गते आइतबार मनसुनी गतिविधि उच्च हुनेछ। यो अवधिमा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा ‘अति भारी’ वर्षाको सम्भावना रहेको छ।
यस्तै देशमा हिमाली र पहाडी भू-भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानहरू तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईका एक-दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
त्यसैगरी यही अवधिमा देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण गरिएको छ।
मौसम विभागले सार्वजनिक गरेको जोखिमको नक्सामा देशका अधिकांश जिल्लाहरू रातो र सुन्तला रङ्ग (उच्च जोखिम) मा देखिएका छन्। लगातारको वर्षाका कारण नदी तथा खोलाहरूमा जलस्तर अचानक बढ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा बस्नेहरूलाई सतर्क रहन भनिएको छ।
यसका अलावा पहाडी भू-भागमा गेग्रान बहाव र पहिरोको उच्च जोखिम रहेकाले भिरालो जमिन आसपास रहेका बस्तीहरू सावधान हुन र भारी वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रमा समेत अवरोध पुग्न सक्ने देखिएको महाशाखाले जनाएको छ।
वर्षासँगै देशका धेरै स्थानमा मेघगर्जन र चट्याङको समेत सम्भावना रहेकाले खुल्ला ठाउँमा नबस्न र विद्युतीय उपकरणहरूको प्रयोगमा सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।
साउन ४ गते सोमबारदेखि भने मनसुनी गतिविधिमा केही कमी आउन सक्ने अनुमान गरिएको छ। विभागले मौसम सम्बन्धी पछिल्लो जानकारीका लागि नियमित रूपमा विभागको वेबसाइट पछ्याउन सर्वसाधारणलाई आग्रह गरेको छ।
साउन २, २०८३ शनिबार ११:४०:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।