प्रहरी नेतृत्व फेरेर सोनम वाङचुकलाई प्रदर्शनस्थलबाट हटाइयो, अभिजीत दीपकेले थाले आमरण अनसन

प्रहरी नेतृत्व फेरेर सोनम वाङचुकलाई प्रदर्शनस्थलबाट हटाइयो, अभिजीत दीपकेले थाले आमरण अनसन

एजेन्सी : दिल्लीको जन्तरमन्तरमा जारी आन्दोलनले नयाँ मोड लिएको छ।

२१औं दिनदेखि अनसनरत सामाजिक अभियन्ता सोनम वाङचुकलाई प्रहरीले जबरजस्ती उठाएर अस्पताल पुर्याएपछि ‘कक्रोच जनता पार्टी’(सीजेपी) का संस्थापक अभिजीत दीपकेले आमरण अनसन सुरु गर्ने घोषणा गरेका छन्।

वाङचुकलाई हिरासतमा लिएर सफदरजङ्ग अस्पताल भर्ना गरिएलगत्तै दीपकेले आन्दोलनलाई थप सशक्त बनाउन आफू अनसन बस्ने निर्णय लिएका हुन्।

उनीसँगै ‘अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन’(आइसा)का तीन विद्यार्थी नेताहरू- नेहा, आमीन र मनिषले पनि आफ्नो अनसनलाई निरन्तरता दिएका छन्।

प्रहरीको धरपकड र मानवीय साङ्लो
शनिबार बिहान वाङचुकलाई उठाउन आएको प्रहरी टोलीलाई प्रदर्शनकारीले रोक्ने प्रयास गरेका थिए। प्रहरीले वाङचुकलाई लैजाँदै गर्दा अन्य अनसनरत विद्यार्थीहरूलाई पनि हिरासतमा लिने प्रयास गरेको थियो।

तर, प्रदर्शनस्थलमा रहेका सयौं विद्यार्थीहरूले अनसनकारीको वरिपरि ‘मानवीय साङ्लो’ बनाएर प्रहरीलाई भित्र पस्न दिएनन्।

सीजेपीका प्रवक्ता सौरव दासले प्रहरीले नेता अभिजीत दीपकेलाई उनी बसिरहेकै स्थानमा घेराबन्दी गरेको र कुटपिट समेत गरेको आरोप लगाएका छन्। यद्यपि, पछि दीपके प्रदर्शनस्थल पुगेर आन्दोलनकारीलाई सम्बोधन गरेका थिए।

अब प्रधानमन्त्रीकै राजीनामा माग
प्रहरीको दमनकारी नीतिपछि आन्दोलनकारीले आफ्नो मागलाई अझ कडा पारेका छन्।

सुरुमा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणालीमा सुधारको माग गरिरहेको कक्रोच जनता पार्टीले अब प्रधानमन्त्री नरेन्द्र मोदीकै राजीनामा माग्न थालेको छ।

‘दिल्ली प्रहरीले आज निकै नीच हर्कत गरेको छ, हाम्रो आवाज दबाउन खोजिएको छ,’ दीपकेले प्रदर्शनकारीलाई सम्बोधन गर्दै भने, ‘सोनम सरलाई अस्पताल पुर्याएर आन्दोलन सकिन्छ भन्ने सरकारले ठानेको छ भने त्यो उसको भूल हो। अब म अनसन बस्छु र यो लडाइँ अझ अगाडि बढ्छ।’

प्रहरी नेतृत्वमा परिवर्तन र आन्दोलनको असर
रोचक कुरा त के छ भने, गृह मन्त्रालयले शुक्रबार मात्रै दिल्ली प्रहरी प्रमुख सतीश गोलचालाई हटाएर अनुराग कुमारलाई नयाँ कमिश्नर नियुक्त गरेको थियो।

गोलचालाई समयभन्दा अगावै हटाउनुको पछाडि जन्तरमन्तरमा जारी सीजेपीको आन्दोलनलाई नियन्त्रण गर्न नसक्नु रहेको चर्चा भइरहेकै बेला नयाँ कमिश्नर आएको भोलिपल्टै वाङचुकमाथि प्रहरीले ‘एक्सन’ लिएको हो।

अहिले जन्तरमन्तरमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने आइसा र सीजेपीका कार्यकर्ताहरूले आफ्नो विरोध प्रदर्शन जारी राखेका छन्।

२१ दिन बितिसक्दा पनि सरकारका तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया नआएकोमा प्रदर्शनकारीले आक्रोश व्यक्त गरेका छन्।

साउन २, २०८३ शनिबार १०:२९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।